गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आपराधिक पृष्ठभूमि भएका गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ ।
उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एसपी अपीलराज बोहोराले जानकारी दिए । ‘अहिलेसम्म उहाँविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको जाहेरी परेको छ । सोही जाहेरीका आधारमा पक्राउ पुर्जी लिएर पक्राउ परेका हौं,’ उनले भने ।
पीडितको नाम भने प्रहरीले खुलाएको छैन । गोर्खालीले के–कुन प्रयोजनाका लागि १० करोड लेनदेन गरे भन्ने विषय पनि अनुसन्धान कै विषय रहेको प्रहरीले बताएको छ । बैंकिङ कसुरको मुद्दामा पक्राउ परेका उनी नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय छन् ।
उनीविरुद्ध १० करोड रुपैयाँको चेक बाउन्सको उजुरी छ । उनलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ । प्रहरीले उनीमाथि बैंकिङ कसुरको मुद्दामा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी गरिरहेको जनाएको छ । गोर्खाली यसअघि पनि १० वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन् ।
२०५८ सालमा काठमाडौँको सुन्धारास्थित बेबी लोन डिस्कोमा रोशन लिम्बूको हत्या अभियोगमा उनी दोषी ठहर भएका थिए । उनैले प्रहार गरेको तरबारले लागेर लिम्बूको ज्यान गएको थियो । यी प्रकरणमा उनी जेल परेका थिए । त्यसबाहेक पनि उनी विभिन्न कसुरमा पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् ।
