२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

रवि लामिछानेको आकाशबाट अड्डासार, छिराइयो नख्खु कारागार

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन ३१ गते शनिबार

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि भैरहवा कारागार (रूपन्देही)मा रहेका रवि लामिछानेको हवाई मार्गबाट अड्डासार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेलाई बुद्ध एअरको विमानबाट काठमाडौँ ल्याइएको छ ।

स्रोतका अनुसार; लामिछानेलाई विमानमा राखेर भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याइएको हो । लामिछानेलाई काठमाडौं ल्याएर नख्खु कारागार छिराइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नख्खु कारागार लगिएको हो ।

विमानस्थल परिसरमा भेला भएका कार्यकर्ता र सञ्चारकर्मीलाई सम्बोधन समेत गर्न नदिई नख्खु लगिएको छ । लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजे बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिए पनि मौसमका कारण ढिलाइ भएको थियो ।

उनले नख्खु कारागारमा सरुवा गरिदिन राखेको मागमा अदालतले अनुमति दिएको थियो । तर, सरकार मातहतको गृह प्रशासनले उनको माग सुनुवाई गरेको थिएन ।

लामिछाने चैत २५ गतेदेखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए । दुई महिनाअघि नै रविले अड्डासार निम्ति निवेदन दिएका थिए । उनले नख्खु कारागारमा सरुवा गरिदिन राखेको मागमा अदालतले अनुमति दिएको थियो । तर, सरकार मातहतको गृह प्रशासनले उनको माग सुनुवाई गरेको थिएन ।

लामिछानेले शुक्रबार कारागार विभागमा दिएको निवेदनका आधारमा सरुवा गर्ने निर्णय भएको कारागार व्यवस्थापन विभागकी निर्देशक कल्पना घिमिरे नेपालले जानकारी दिइन् । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट रकम ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि उच्च अदालत बुटवलको आदेशमा रुपन्देही कारागारमा थिए ।

रास्वपाले लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान चलाइरहेको छ । कारागार सरुवा हुने भएपछि लामिछानेलाई स्वागत गर्न रास्वपा समर्थितहरू नख्खु कारागार पुगेका थिए । यद्यपी लामिछानेलाई लुकाएर नेपाल आयल निगमको बाटो हुँदै विमानस्थलबाट बाहिर निकालिएको थियो ।

रास्वपाका कार्यकर्ताहरू विमानस्थलमा भेला भएर उनको आगमन हेर्न पुगेका थिए । लामिछानेलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न प्रशासनले उनीहरूलाई छक्याएर गोप्य मार्ग अपनाउँदै विमानस्थलबाट सोझै नख्खु कारागार लगिएको हो ।

प्रकाशित मिति : २०८२ साउन ३१ गते शनिबार