२०८३ वैशाख ३ , बिहीबार 16, April 2026, Thursday

बाँकेमा एकसाथ निर्माण गरिँदै नौ वटा पुल

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन ३० गते शुक्रबार

बाँकेमा लुम्बिनी प्रदेश सरकारले एकसाथ नौ वटा पुलको निर्माण गरेको छ । सडक पूर्वाधार कार्यालय बाँकेका अनुसार करिब ५१ करोडको लागतमा नौ वटा पुलको निर्माण गरिएको छ । जसमध्ये चार वटा पुलको निर्माण सम्पन्न भइसकेको छ ।

पाँचवटा पुल चालु आवमा निर्माण सम्पन्न हुने गरी कार्यप्रगति अघि बढेको सडक पूर्वाधार कार्यालय बाँकेका प्रमुख दीपक खड्काले जानकारी दिए । कार्यालयका अनुसार जेठीनाला बनखेत पुल र परसपुर–गौघाट सडक खण्डको किरण नाला पुल आर्थिक वर्ष २०८०–०८१ मा सम्पन्न भएका हुन् ।

यसैगरी खजुरा–३ स्थित गडगैचा पुल र बैजनाथ–४ स्थित जेठीनाला पुल गत आव २०८१–०८२ मा निर्माण सम्पन्न भएका छन् । जानकी गाउँपालिका–४ जोड्ने खजुरा–४ को सिर्जना टोल र चल्तुवास्थित किरणनाला पुल, पिप्रहवा–जयसपुर–साईगाउँ–राधापुर जोड्ने किरण नाला पुल र राप्तीसोनारी–९ अर्गानिकदेखि तल्लो खैरेनी जोड्ने पुल चालु आव २०८२–०८३ मा सम्पन्न हुने कार्यालयले जनाएको छ ।

सडक पूर्वाधार कार्यालय बाँकेका प्रमुख दीपक खड्काले भने, ‘निर्माणाधीन पुलको ढलानको काम सम्पन्न भइसकेकाले चालु आवभित्र सबै पुलको निर्माण कार्य सम्पन्न हुनेछ ।’ कतिपय पुल निर्माणमा निर्माण व्यवसायीले ढिलाइ गरेपछि बारम्बारको ताकेता र कारवाहीको प्रक्रिया अघि बढाएपछि सम्पन्न हुने अवस्थामा पुगेको कार्यालय प्रमुख खड्काले बताए ।

निर्माणमा ढिलाइ भएका किरणनालास्थित चल्तुवा र सिर्जनाटोलमा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पुल निर्माणपछि सडक यात्रु तथा नागरिकहरुलाई ओहोदोहरका लागि थप सहजता हुने भएको छ । सडक पूर्वाधार कार्यालय बाँकेका प्रमुख खड्काले नागरिकलाई सहजरुपमा कम जोखिमपूर्ण यात्रा होस् भनेर पुल निर्माणमा लागिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार