पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२, इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो ।
पहिरो पन्छाउन नसक्दा सवारीसाधन मात्र होइन, पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले बताए । करिब दुई किलोमिटर क्षेत्र पहिरोले ढाकेको छ । कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको उनले जानकारी दिए ।
पहिरो पन्छाउने प्रयास सरकारीस्तरमा नभएको उनले गुनासो गरे । यसैबीच, चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको र त्यो रोकिनासाथ भारी उपकरण प्रयोग गरेर बाटो खोलिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रकाशित मिति : २०८२ साउन ३० गते शुक्रबार
सत्यपाटी