२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

बाजुरामा बाढी : झोलुङ्गे पुलसहित घरहरू बगे, बस्ती जोखिममा

बाजुरा जिल्लाको पूर्वोत्तर भेगमा बग्ने विच्छ्या खोलाको बाढीले हिमाली गाउँपालिका–१ को बस्ती जोखिममा परेको छ । बुधबार रातिदेखिको लगातारको वर्षाले गाउँ जलमग्न हुने जोखिम अझ बढाएको स्थानीय साजन थापाले बताए ।

उक्त खोलाको एउटा झोलुङ्गे पुलसहित केही घरहरू बगाएको उनले बताए । हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार अहिलेसम्म १० वटा घरमा क्षति भएको छ । क्षतिको मूल्याङ्कन गर्न पालिकाबाट टोली परिचालन भएको छ ।

प्रहरीको टोली पनि प्रभावित क्षेत्रमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीबाट मानवीय क्षति भएको छैन । बाढीले उक्त क्षेत्रमा टेलिफोन सेवा पनि अवरुद्ध भएको छ । यसैबीच, जिल्ला प्रशासन कार्यालयले वर्षा जारी रहेकाले सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ ।

टिङ्कर गाउँ जोड्ने काठेपुल बग्यो

टिङ्कर खोलाको बाढीले छाङ्गरुदेखि टिङ्करसम्मका तीन स्थानका पुल बगाएको छ । पुल बगेपछि टिङ्कर गाउँसँगको सडक सम्पर्क विच्छेद भएको छ । टिङ्कर खोलापुल, नाम्पापुल र चम्लिङ खोलाको पुल बाढीले बगाएको व्यास गाउँपालिका–१ का वीरेन्द्रसिंह तिङ्करीले जानकारी दिए । टिङ्करमा रहेका नेपाल टेलिकमको टावरले पनि काम नगरेको उनले बताए ।

बाढीबाट गाउँमा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताए । उनले भने, ‘टिङ्कर सीमा प्रहरी चौकीसँग सञ्चारसेटमार्फत सम्पर्क भएको छ । क्षति भएको स्थानको वस्तुस्थिति बुझ्न टिङ्करबाट प्रहरी परिचालन भएका छन् ।’ छाङ्गरुदेखि टिङ्करसम्मको झण्डै ३०० देखि ४०० मिटर बाटो पनि बगेको छ ।

प्रकाशित मिति : २०८२ साउन २९ गते बिहीबार