नेपाल सरकारको २० वर्ष उमेर पुगेपछि मात्रै विवाह गर्ने कानुनी प्रवाधान भए पनि मुगुमा भने २० वर्ष नपुग्दै बालविवाह गरी आमा बन्नेहरुको संख्या बढ्दो छ । जिल्ला अस्पातलबाट सुरक्षित प्रसूति हुने र सुरक्षित गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० बर्षमुनिका किशोरीहरुको संख्या रहेको देखिन्छ ।
आर्थिक वर्ष २०८१–०८२ मा जिल्ला अस्पतालमा जम्मा २२९ जनाले सुरक्षित सुत्केरी भएका छन भने यसमा ४५ प्रतिशत २० बर्ष नपुग्दै आमा बन्ने किशोरीको संख्या बढी रहेको पाइन्छ । जिल्ला अस्पतालमा आएर सुरक्षित गर्भपतन गराउनेहरुको संख्या विगतका भन्दा पछिल्ला बर्षहरुमा झन बढ्दो अवस्थामा छ ।
आर्थिक बर्ष २०८१–०८२ सालमा मात्र जिल्ला अस्पतालमा ६४ जना पुगेका छन भने जिल्लामा मेरिस्टोप सेन्टरबाट पनि गर्भपतन गराएको देखिन्छ । २० बर्ष नपुग्दै बालविवाह गर्नुको मुख्य कारण अशिक्षित, गरिवी, जनचेतनाको कमी, सामाजिक प्रचलन, सामाजिक सञ्जालको दुरुपयोग देखिन्छ ।
जिल्ला अस्पताल मुगुकी नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला बर्षहरुमा स्वास्थ्य संस्थामा किशोरीहरु वा आमाहरु सुत्केरी हुने र गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० बर्षमुनि उमेरका रहेका छन् । किशोरी अवस्थामा विवाह गरी गर्भवती हुँदा स्वास्थ्य अवस्था कमजोर हुनुका साथै बालविवाह घट्नुभन्दा बढिरहेकाले यसको न्यूनिकरणका लागि आवश्यक कदम चाल्नुपर्ने सोरु गाउँपालिका वडा नं. ५ की झुपा बिष्टले बताइन् ।
मुगु जिल्लामा रहेका चारवटै स्थानीय तहमा महिला र बालबालिकाको क्षेत्रमा काम गर्न महिला तथा बालबालिका शाखा छन् । जिल्लास्थित १० वटा गैरसरकारी संस्थाका छाता संगठनहरुले बालविवाहविरुद्ध साझा अभियान चलाइरहेका छन् । यद्यपि यी निकायले बालविवाह न्यूनीकरणका लागि ठोस कानुनी प्रक्रिया ल्याउन सकेका छैनन् ।
सत्यपाटी