२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

ब्राउनसुगर र २२ लाख रुपैयाँसहित नेपालगन्जबाट पक्राउ परे लोनिया

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन २८ गते बुधबार

नेपालगन्जबाट लागूऔषध ब्राउनसुगर र २२ लाखभन्दा बढी रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ उधैपुरवाका २८ वर्षीय रमेश लोनियालाई १५ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नेपाली तथा भारती रुपैयाँ गरी २२ लाख तीन हजार ९१५ नेपाली रुपियाँसहित अन्य सामग्रीका साथमा मंगलबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीले जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्युरो नेपालगन्जको संयुक्त प्रहरी टोलीले लोनियालाई मंगलबार १५ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ, नगद नेपाली रुपैयाँ २२ लाख तीन हजार ९१५ लगायत अन्य सामग्रीहरुसहित पक्राउ गरिएको जानकारी दिए ।

लोनियाको साथबाट विभिन्न दरका नेपाली र भारतीय रुपैयाँ गरी २२ लाख तीन हजार ९१५ नेपाली रुपैयाँ, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका खुट्टामा लगाउने कडा २ थान, बाला २ थान, औँठी ३३ थान, सिक्का २१ थान, कानमा लगाउने रिङ ४ थान, जन्तर १ थान, ब्रासलेट ५ थान, पायल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रासलेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान र टुक्राहरु साना ठुला ११ थान बरामद भएको छ ।

त्यसैगरी सुन जस्तो देखिने पहेँलो धातुका कडा ६ थान, घाँटीमा लगाउने हार २ थान, सिक्री ३ थान, कानमा लगाउने बाली १ थान, कानमा लगाउने झुम्का ३ जोडी, औँठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, नाकको फुली १ थान, रिङ सानो ६ थान, सिरबन्दी २ थान, तिलहरी २ थान, मङ्गलसुत्र ५ थान, पहेँलो धातु जञ्जिर २ थान बरामद गरिएको सूचना अधिकारी पातलीले जानकारी दिए ।

त्यसैगरी लोनियाको साथबाट भारतीय नम्बर प्लेटका दुई थान मोटरसाइकलसहित ५ थान खुकुरी, क्यानन डिएसएलआर क्यामरा १ थान र विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल १० थानसमेत बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । लोनियाका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार