२०८२ चैत १ , आइतबार 16, March 2026, Monday

खेर जाने सालका पात संकलन गरी दुनाटपरी उत्पादन

सत्यपाटीसत्यपाटी । बर्दिया । २०८२ साउन २८ गते बुधबार

बर्दियाको ठाकुरबाबा नगरपालिकाले प्लास्टिकका प्लेट विस्थापित गर्न महिला समूहमार्फत दुनाटपरी उद्योग सञ्चालन गरिएको छ । ठाकुरबाबा नगरपालिका–८ मा रहेको भुड्कैया महिला समूहले दुनाटपरी उद्योग सञ्चालन गरेको हो । महिला समूहले अहिले खेर गइरहेको सालको पातको प्रयोग गरेर दुनाटपरी उत्पादन गरिरहेको छ ।

सामुदायिक वनबाट सालको पात ल्याई आधा सुकाएर साँचोमा राखेर दुनाटपरी बनाउने गरिएको छ । दुनाटपरी उद्योग सञ्चालन भएपछि समूहका १५ जना महिलाले प्रत्यक्ष रोजगार पाएका छन् । सामुदायिक वनमा आबद्ध महिलाले सालको पात सङ्कलन गरेर उद्योगमा ल्याएर बेच्न समेत पाउने भएका छन् ।

भुड्कैया महिला समूहकी अध्यक्ष मञ्जु थारूले महिलाद्वारा सञ्चालित उद्योगमा हालसम्म २० हजार थान दुनाटपरी उत्पादन भइसकेको छ भने पाँच हजार थान दुनाटपरी बिक्री भइसकेको बताइन् । वनमा खेर गइरहेको सालको पातबाट दुनाटपरी बनाई आम्दानी गर्न थालेको बताउँदै उनले बजार व्यवस्थापन भएमा चाहिए जति दुनाटपरी उत्पादन गर्न सक्ने बताइन् ।

उद्योग सञ्चालनका लागि ठाकुरबाबा नगरपालिकाले दुई लाख ७९ हजार रुपियाँ बराबरको दुनाटपरी बनाउने मेसिन सहयोग गरेको छ । दलित महिला उत्थान सङ्घ बर्दियाले दुनाटपरी बनाउने तालिममा आवश्यक सामग्री र एक लाख ६० हजार बिउ पुँजी सहयोग गरेको छ । ठाकुरबाबा नगरपालिका उपप्रमुख बिना भट्टराईले प्लास्टिकका प्लेट विस्थापन गर्न दुनाटपरी उद्योग सञ्चालन गरिएको बताइन् ।

‘हामीले निर्णय नै गरेर प्लास्टिकजन्य प्लेट, प्लास्टिकका थैलाको प्रयोगमा निरुत्साहित गरिरहेका छौँ,’ उनले भनिन्, ‘समूहले जति दुनाटपरीको उत्पादन गरे पनि नगरपालिकाले बजार व्यवस्थापन गर्नेछ ।’ उनले नेपालीको जन्मदेखि मृत्यु संस्कारसम्म सालको पातको दुनाटपरी चाहिने हुँदा यसको बजारीकरणमा समस्या नहुने बताइन् ।

ठाकुरबाबा नगरपालिकामा बर्दियाको मुख्य पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्छ । पर्यटकीय क्षेत्र भएको हुनाले पनि नगरपालिकाले जैविक विविधताको संरक्षण गर्न प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गरेको छ । ठाकुरबाबा नगरपालिकाले ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिकको प्रयोग २०८१ वैशाखदेखि नै निषेध गरेको थियो ।

प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार