२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

चन्द्रमामा मानव बस्ती बसाल्न परमाणु भट्टी निर्माण गर्दै अमेरिका

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले सन् २०३० सम्ममा चन्द्रमामा आणविक रिएक्टर (परमाणु भट्टी) निर्माण गर्ने योजनालाई तीव्रता दिने भएको छ । चन्द्रमाको सतहमा मानवको स्थायी बसोबासका लागि मार्गप्रशस्त गर्ने महत्त्वाकांक्षासहित नासाले यो परियोजना अगाडि सारेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट नासाको अस्थायी प्रमुखमा नियुक्त भएका यातायात सचिव सन डफीले नासालाई निर्देशन दिएपछि यो योजना द्रुत गतिमा अघि बढाउन लागिएको हो । पोलिटिकोको एक रिपोर्ट अनुसार, डफीले नासालाई चन्द्रमामा कम्तीमा १०० किलोवाट ऊर्जा उत्पादन गर्न सक्ने आणविक रिएक्टर निर्माणका लागि व्यावसायिक कम्पनीहरूबाट प्रस्ताव आह्वान गर्न निर्देशन दिएका छन् ।

नासाको यो सक्रियता चीन र रुसले गत मे महिनामा गरेको यस्तै घोषणापछि आएको हो । चीन र रुसले सन् २०३५ सम्ममा चन्द्रमामा स्वचालित आणविक ऊर्जा केन्द्र स्थापना गर्ने लक्ष्य राखेका छन् । भारत, जापानलगायत अन्य धेरै देश पनि चन्द्रमाको सतह अन्वेषण गर्ने र त्यहाँ स्थायी मानव बस्ती स्थापना गर्ने दौडमा छन् ।

‘भविष्यको चन्द्र अर्थतन्त्र, मंगल ग्रहमा ऊर्जा उत्पादन र अन्तरिक्षमा हाम्रो राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न यो महत्त्वपूर्ण प्रविधिलाई अगाडि बढाउनु अत्यावश्यक छ,’ द न्यूयोर्क टाइम्सले डफीलाई उद्धृत गर्दै लेखेको छ, ‘यसका लागि एजेन्सीले छिटो काम गर्नुपर्छ ।’ नासाले चन्द्रमामा आणविक रिएक्टरलाई ऊर्जा स्रोतको रूपमा प्रयोग गर्नेबारे अन्वेषण गरेको यो पहिलो पटक भने होइन ।

सन् २०२२ मा पनि उसले चन्द्र सतहमा आणविक रिएक्टर डिजाइन गर्न तीन ओटा कम्पनीहरूलाई ५० लाख डलरको ठेक्का दिएको थियो । चीन र रुसको घोषणाले नासालाई आफ्नो गति बढाउन प्रेरित गरेको विश्लेषण गरिन्छ । यसको पछाडि आर्टेमिस सम्झौताले पनि काम गरेको छ । यो सात देशले हस्ताक्षर गरेको एक सम्झौता हो, जसले चन्द्रमाको सतहमा देशहरूले कसरी सहकार्य गर्नुपर्छ भन्ने सिद्धान्तहरू स्थापित गर्दछ ।

विशेषगरी यो सम्झौताले सहभागी देशहरूलाई चन्द्रमामा आफ्नो सम्पत्ति र सञ्चालनको वरपरका क्षेत्रहरूलाई ‘सुरक्षा क्षेत्र’ घोषणा गर्न अनुमति दिन्छ । यदि चीन वा रुसले चन्द्रमामा रिएक्टर वा कुनै आधार स्थापना गरेमा, उनीहरूले त्यसलाई सुरक्षा क्षेत्र घोषणा गरी वरपरका क्षेत्रमा पहुँच सीमित गर्न सक्ने चिन्ता अमेरिकालाई छ ।

यद्यपि, नासाको यो महत्त्वाकांक्षी योजना र समयसीमामाथि बजेट कटौतीका कारण शंका उत्पन्न भएको छ । ट्रम्प प्रशासनले आगामी वर्ष नासाको बजेटमा २४ प्रतिशतले कटौती गर्ने योजना बनाएको बताइएको छ, जसले गर्दा मंगल ग्रहबाट चट्टान र माटोको नमुना पृथ्वीमा ल्याउने लक्ष्य राखेको ‘मार्स स्याम्पल रिटर्न मिसन’ लगायत अन्य धेरै विज्ञान कार्यक्रमहरूको बजेट घट्नेछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार