बाँके जिल्लामा सरकारी र निजी गरेर ठुलठुला अस्पताल रहेकाले रगतको माग दिनदिनै बढ्दै गएको छ । पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ठुलो सङ्ख्यामा गम्भीर अवस्थाका बिरामी उपचारका लागि बाँकेका अस्पतालमा आउने गरेकाले रगतको माग अत्यधिक रहेको प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले जनाएको छ ।
प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जिल्लामा रक्तदान गर्नेभन्दा रगतको माग बढी हुने गरेका कारण सधैँ रगतको अभाव हुने गरेको बताए । उनले सोही कारणले रक्तदान गर्ने सङ्घ संस्था र दातालाई सधैँ रगतका लागि गुहार्नुपरेको बताउँदै रगत अभाव कम गर्न रक्तदान अभियानलाई झन् तीव्र पार्न सङ्घ संस्था र दातासँग अनुरोध गरे ।
उनका अनुसार बाँकेमा भेरी अस्पताल, शिक्षण अस्पताल कोहलपुर तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा रक्तसञ्चार केन्द्रमार्फत रगत सङ्कलन र वितरण हुँदै आएको छ । सङ्कलित रगतमध्ये अधिकांश नेपालगन्जको भेरी अस्पताल र सञ्जीवनी शिक्षण अस्पताल तथा कोहलपुरको शिक्षण अस्पतालमा खपत हुने गरेको छ ।
सङ्कलनभन्दा माग सधैँ बढी हुने गरेकाले रगतको अभाव निरन्तर हुने गरेको प्रादेशिक रक्तसञ्चार केन्द्रले जनाएको छ । उनले भने, ‘नेपालगन्जमा दैनिक ६० देखि ७० पिन्ट, कोहलपुरमा १५ देखि २५ पिन्ट र खजुरामा आठदेखि १२ पिन्टसम्म रगतको माग हुने गरेको छ । यतिधेरै रगत सङ्कलन नहुँदा पुर्याउन समस्या भएको हो ।’
२३ हजार पिन्ट रगत वितरण
नेपालगन्जस्थित भेरी अस्पताल प्राङ्गणमा रहेको प्रादेशिक ब्लड बैङ्क र सो मातहतमा कोहलपुर तथा खजुरामा रहेका ब्लड सङ्कलन केन्द्रबाट एक वर्षमा २३ हजार पिन्ट रगत वितरण गरिएको छ । प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जका अनुसार गत आर्थिक वर्ष २०८१–०८२ मा केन्द्र तथा सो मातहतका कोहलपुर र खजुरामा रहेका एकाइबाट २३ हजार १९६ पिन्ट रगत वितरण गरिएको हो ।
बाँके जिल्लामा गत आवमा १६ हजार १५१ पिन्ट रगत विभिन्न दाताबाट सङ्कलन गरिएकोमा आवश्यकता अनुसार आरबिसी (रातो रगत) र डब्लुबिसी (सेतो रगत) बनाएर २३ हजार १९६ पिन्ट रगत वितरण गरिएको छ । गत आवमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जमा ११ हजार आठ पिन्ट रगत सङ्कलन भएकोमा १५ हजार ९०० पिन्ट रगत विभिन्न बिरामीलाई उपलब्ध गराइएको थियो । यसैगरी रक्त सञ्चार एकाइ कोहलपुरमा चार हजार १६ पिन्ट रगत सङ्कलन भएकोमा पाँच हजार १७४ पिन्ट वितरण गरिएको थियो ।
सत्यपाटी