२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

भाबी आइजीपीको प्रतिस्पर्धा, को बन्ला नयाँ प्रहरी प्रमूख ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २७ गते मंगलबार

नेपाल प्रहरीमा ३२ र ३३ औं प्रहरी महानिरीक्षक (आइजीपी)का लागि कडा प्रतिस्पर्धा देखिएको छ । प्रहरी विधेयक समयमा नआउने भएपछि वर्तमान आइजीपी दीपक थापाले भदौ १९ गतेबाट अनिवार्य अवकाशमा जादै गर्दा भावी आइजीपीका लागि प्रतिस्पर्धा शुरु भएको हो । विद्यमान प्रहरी नियमावली अनुसार भदौ १८ गते राती आइजीपी थापा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदैछन् ।

त्यसपछि ३२औं आइजीपी बन्ने दौडमा नेपाल प्रहरीका पाँच अधिकृत प्रतिस्पर्धामा छन् । एआइजीहरू चन्द्रकुवेर खापुङ, दानबहादुर कार्की, राजन अधिकारी, मनोज केसी र सिद्धिविक्रम शाह प्रतिस्पर्धामा रहेका छन् । सिआइबी प्रमुखसमेत रहेका एआइजी खापुङ पहिलो नम्बरमा छन् । उनी आफ्नो ब्याचबाट एकल दाबेदार हुन् । उनकै ब्याचका कृष्णहरि शर्मा पोखरेल पनि एआइजी पदमै छन् ।

तर, १८ भदौअघि नै पोखरेल ५६ वर्षे उमेर हदका कारण अवकाश जाने भएपछि खापुङ आइजीपीका लागि एक्ला दावेदार हुन् । खापुङ आइजीपी भएमा उनको कार्यकाल २७ कात्तिकसम्म हुनेछ । तेह्रथुमका तत्कालीन एमाले नेता भवानी खापुङका आफन्त रहेका उनको एमाले नेताहरूसँग राम्रो सम्बन्ध छ । त्यसकारण दुई महिनाका लागि भए पनि उनी आइजीपी हुने सम्भावना छ ।

आइजी प्रतिस्पर्धाको दोस्रो नम्बरमा रहेका कार्की तेस्रो नम्बरमा रहेका अधिकारी र चौथौ नम्बरमा रहेका केसी प्रहरी संगठनमा व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् । सिनियर भएकाले कार्की भदौमा नभए पनि कात्तिकमा आईजी बन्ने सम्भावना रहेको बताइन्छ । यद्यपि अधिकारी पनि कमजोर भने छैनन् । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी सेवामा आएका शाह पनि कमजोर देखिएका छैनन् ।

कार्कीसँग मुख्य प्रतिस्पर्धा शाहको हुने चर्चा चले पनि अधिकारीले पनि सहजै छाड्ने अवस्था छैन । शाह र अधिकारीको नेपाली कांग्रेसका नेताहरूसँग राम्रो सम्बन्ध रहेको छ । अधिकारीले उमेश श्रेष्ठ र व्यापारी रवि केसीमार्फत बूढानिलकण्ठमा सम्बन्ध बनाएका थिए । कोशी प्रदेशमा डिआइजी कमाण्ड जाने बेलामा अधिकारीले एकाध पटक बूढानकण्ठ पुगेर सम्बन्ध राम्रो बनाएका हुन् ।

यता एमालेसँग पनि राम्रो सम्बन्ध भएका कारणले उनलाई आइजीपीको प्रतिस्पर्धी मानिएको छ । पहिलो नम्बरमा रहेका कार्कीको भने सबैतिर सम्बन्ध राम्रो रहेको छ । उनलाई व्यवशायीयक प्रहरी अधिकृतको रुपमा लिएका कारण सम्बन्ध राम्रो रहेको प्रहरी प्रधान कार्यालयमा चर्चा चलेको छ । अर्का प्रतिस्पर्धी अधिकारीको पनि एमाले नेतासँग राम्रो सम्बन्ध रहेको जानकाहरू बताउँछन् । जसकारण स्वच्छ छवि भएका अधिकारीको पनि आइजीपी बन्ने सम्भावना छ ।

यस्तै राजनीतिक पहुँच कम भएका केसी पनि आईजीपीको प्रतिस्पर्धामा देखिएपनि सम्भावना कम छ । उनी पनि प्रहरी संगठनमा अब्बल र व्यवसायीक अधिकृतको रुपमा चिनिन्छन् । सरकारले यी एआइजीमध्ये एकलाई आगामी १८ भदौपछि आइजीपीमा बढुवा गर्नेछ । त्यस्तै दुई महिनाको लागि खापुङ आइजीपी बनेमा २७ कात्तिकपछि चार एआइजीमध्ये पुनः एकलाई ३३ औं आइजीपी हुनेछन् ।

कार्की, अधिकारी र केसी ०५४ सालमा भर्ना भएका हुन भने शाहचाहि २०५३ सालमा भर्ना भएका हुन् । आफू २०५३ सालमा भर्ना भएका कारण सिनियर रहेको दावी गर्दै शाहले आइजीपीका लागि अर्को दावी पेश गर्न सक्नेछन् । यद्यपि प्रहरीमा तालिमलाई पनि आधार मान्ने भएकाले कार्कीको व्याचभन्दा ६ वर्षपछि प्रहरीको तालिम गरेका शाहलाई सिनियर दावी गर्न अप्ठेरो पर्नेछ । संसदमा प्रहरी ऐनमा आएको अवरोधपछि खापुङ, कार्की, अधिकारी, केसी र शाहले आइजीपीका लागि प्रतिस्पर्धा गर्ने अवसर पाएका हुन् ।

प्रकाशित मिति : २०८२ साउन २७ गते मंगलबार