देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना छ । मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
देशका पहाडी भू–भागका धेरै स्थानमा र मधेस प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
महाशाखाले राति देशभर पूर्णतया बदली रहने बताएको छ । मधेस प्रदेश लगायत कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
मधेस, कोसी र वाग्मती प्रदेशको पहाडी र तराई भूभागको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको पहाडी र तराई तथा लुम्बिनी प्रदेशको तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बताएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक छ । त्यसैले तराईमा कतिपय स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सत्यपाटी