२०८३ जेठ २४ , आइतबार 7, June 2026, Sunday

मधेसमा मनसुन भित्रिएसँगै खेतमा हरियाली

सत्यपाटीसत्यपाटी । रौतहट । २०८२ साउन २६ गते सोमबार

लामो समयको खडेरीपछि भित्रिएको मनसुनले मधेस प्रदेशका खेतहरूमा हरियाली छाएको छ । एक साताअघि सुरु भएको वर्षापछि रौतहटसहित प्रदेशका आठवटै जिल्लामा प्रत्येक दिन वर्षा भइरहेको छ, जसले गर्दा किसानले लगाएको धान बालीमा नयाँ जीवन फर्किएको हो ।

अत्यधिक खडेरीका कारण जमिनमा धाँजा फाटेर सुकेको माटो अहिले हरियो धानको बिरुवाले ढाकिएको छ । धान बालीमा नयाँ जीवन फर्किएको देखेर किसानले राहतको सास फेरेका छन् । मधेश प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदिप चौधरीका अनुसार हालसम्म प्रदेशमा करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

जिल्लागत हिसाबमा हेर्दा सबैभन्दा बढी बारा जिल्लामा ९५ प्रतिशत रोपाइँ भएको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको हो । प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोपाइँ हुने वार्षिक अनुमान भए पनि अहिलेसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा मात्र रोपाइँ भइसकेको छ ।

सूचना अधिकारी चौधरीका अनुसार, पर्याप्त वर्षा नभए पनि बोरिङमार्फत सिँचाइ गरेर रोपाइँको क्षेत्रफल बढाइएको छ । बारामा गण्डक नहर, पर्सामा गण्डक, सप्तरीमा कोशी, सर्लाही र रौतहटमा बागमती नदीमार्फत किसानले सिँचाइ सुविधा पाएका छन् । तर, धनुषामा कमला नदी सुक्दा धान रोपाइँमा समस्या आएको हो । यस वर्ष अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान गरिएको छ ।

ढिलो रोपाइँका कारण कुल धान उत्पादनमा करिब २७ प्रतिशत ह्रास हुने प्रक्षेपण गरिएको छ । कृषि विज्ञहरूले समयमै रोपाइँ नहुँदा धानको बाली परिपक्व हुन ढिलो हुने, उत्पादन घट्ने र दानामा गुणस्तर कमी आउने चेतावनी दिइरहेका छन् । रौतहटको चन्द्रनिगाहपुरका किसान अशोक पहाडी भन्छन्, ‘वर्षा सुरु भएपछि धान रोप्न त पायौं, तर ढिलो भएपछि उत्पादन घट्ने डर छ ।’

समयमै मल, बीउ र सिँचाइ सुविधा पाइयो भने केही हदसम्म घाटा कम गर्न सकिने उनी बताउँछन् । पहाडीले भने, ‘मनसुन ढिलो भए पनि वर्षा निरन्तर रह्यो भने हरियालीले भरिएका खेतले फेरि भरिभराउ भकारी दिने आशा गर्न सकिन्छ । तर, खडेरीको असर र ढिलो रोपाइँले यस वर्षको उत्पादनमा गहिरो असर पर्ने निश्चित देखिन्छ ।’

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार