२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

झाडापखालाका कारण बालिकाको ज्यान गयो

सत्यपाटीसत्यपाटी । बैतडी । २०८२ साउन २६ गते सोमबार

झाडापखालाका कारण बैतडीमा एक बालिकाको ज्यान गएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–४ जोखल्लीकी १३ वर्षीया आरती रोकायाको झाडापखालाका कारण ज्यान गएको हो । स्थानीय महिला स्वास्थ्य स्वयंसेविका डम्मरा नेगीका अनुसार तीन दिनदेखि झाडापखाला लागेकी रोकायाको सोमबार बिहान घरमै ज्यान गएको हो ।

झाडापखाला लागेकी रोकायालाई उपचारका लागि स्वास्थ्य संस्था नलैजाँदा ज्यान गएको बुझिएको छ । उनलाई स्वास्थ्य संस्था लैजानुको सट्टा घरमै धामीझाक्री बोलाएर झारफुक गरेको बताइएको छ । स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी विपीन लेखकले भने झाडापखालाका कारण बालिकाको मृत्यु भएको बारे पुष्टि हुन बाँकी रहेको बताए ।

उनले भने, ‘बालिकाको मृत्यु भएको खबर प्राप्त भएको छ । झाडापखालाका कारणले हो वा अन्य कुनै रोगका कारण मृत्यु भएको पुष्टि हुन बाँकी छ ।’ सोही घरमा थप दुईजना बालबालिकामा झाडापखाला देखिएको छ । झाडापखाला देखिएपछि उक्त क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार