२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

हिमाल आरोहण शुल्क बढ्यो, भदौ १६ गतेदेखि नयाँ शुल्क

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २६ गते सोमबार

सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क लागु हुने भएको छ । आगामी भदौ १६ गतेदेखि आरोहण अनुमति लिने आरोहीले सगरमाथासहितका हिमाल आरोहण गर्न नयाँ शुल्क तिनुपर्ने भएको हो । पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संशोधन गरेको पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ अनुसार भदौ १६ गतेदेखि सगरमाथासहित अन्य हिमालमा आरोहणमा नयाँ शुल्क लागु हुन लागेको हो ।

उचाइ अनुसार हिमाल आरोहण शुल्क बढेको उनले जानकारी दिए । नयाँ शुल्क अनुसार विदेशी पर्यटकले अब वसन्त याममा सगरमाथाको नर्मल रुट (दक्षिणपूर्व) बाट आरोहण गर्न १५ हजार डलर बुझाउनुपर्नेछ । त्यस्तै शरद ऋतुमा आरोहण गर्न सात हजार ५०० डलर र शिशिर तथा वर्षा ऋतुमा तीन हजार ७५० डलर तिर्नुपर्नेछ । हाल शरद ऋतुमा पाँच हजार ५०० डलर र शिशिर तथा वर्षा ऋतुमा दुई हजार ५०० डलर लिइन्छ ।

विभागका अनुसार सगरमाथाको दक्षिणपूर्वी रुटबाहेक अन्य रुटमा आरोहण गर्न वसन्त ऋतुमा १० हजार डलर, शरद ऋतुको पाँच हजार डलर र शिशिर र वर्षा ऋतुको दुई हजार ५०० डलर तिर्नुपर्नेछ । त्यस्तै नेपाली आरोहीका लागि सगरमाथा आरोहण गर्न वसन्त ऋतुमा एक लाख ५० हजार रुपैयाँ बुझाउनुपर्नेछ । शरद ऋतुमा ७५ हजार रुपैयाँ र बाँकी याममा ३५ हजार रुपैयाँ तिर्नु पर्नेछ ।

सगरमाथा बाहेकका आठ हजार मिटरभन्दा माथिका अरू हिमालमा विदेशीका लागि वसन्तकालीन, शरदकालीन र अन्य याममा क्रमशः तीन हजार, एक हजार ५०० र ७५० डलर शुल्क तय गरिएको छ । हालसम्म क्रमशः एक हजार ८००, ९०० र ४५० डलर रहेको छ । त्यस्तै सात हजार ५०१ देखि आठ हजार मिटर उचाइसम्मका हिमाल आरोहणका लागि एक हजार, ५०० र २५० अमेरिकी डलर तोकिएको छ । यो दर अहिले ६००, ३०० र १५० अमेरिकी डलर रहेको छ ।

विभागका अनुसार सात हजारदेखि सात हजार ५०० मिटरसम्म उचाइ भएका हिमाल आरोहण गर्न ८००, ४०० र २०० डलर बनाइएको छ । हाल यो उचाइको हिमाल चढ्न ५००, २५० र १२५ डलर लाग्छ । त्यस्तै छ हजार ५०१ देखि छ हजार ९९९ मिटरसम्मका लागि ५००, २५० र दुई सय अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ । अहिले ४००, २०० र १०० अमेरिकी डलर लाग्छ । ६ हजार ५०० मिटरभन्दा कम उचाइका हिमालका लागि ३५०, १७५ र १८५ डलर शुल्क पुर्याइएको छ । हालसम्म यस्तो शुल्क २५०, १२५ र ७० डलर छ ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार