बाँके जिल्लामा हालसम्म ९७ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । तीन दिन लगातार वर्षा भएको र सिक्टा सिँचाइ आयोजना लगायतका नहरको सिँचाइले गर्दा यसपटक जिल्लामा अनुमान गरिएभन्दा बढी हालसम्म ९७.१० प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले अब जिल्लामा रोपाइँ करिब करिब सम्पन्न हुन लागेको जनाउँदै नरैनापुर १, ४ र ६ को अग्लो स्थानमा करिब २४० हेक्टरमा रोपाइँ हुन बाँकी रहेको र जानकी गाउँपालिकाको १ र ३ मा करिब १७ हेक्टरमा मात्र रोपाइँ हुन बाँकी रहेको बताए ।
नरैनापुरको उत्तरी क्षेत्र अग्लो भएकाले त्यहाँ मकै लगायतको खेती हुने हुँदा रोपाइँ हुन समस्या देखिएको अधिकृत बस्नेतले बताए । यसपटक असार र साउनको तेस्रो सातासम्ममा पनि जिल्लामा पर्याप्त वर्षा नभए पनि सिक्टा सिँचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका व्यवस्थाका कारण रोपाइँ निरन्तर भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।
सिक्टाको नहर नपुगेको नरैनापुर र जानकी गाउँपालिकामा अन्य पालिकाको तुलनामा रोपाइँ ढिला भए पनि अन्य पालिकामा सिँचाइको व्यवस्थाका कारण छिटो भएको कार्यालयले जनाएको छ । बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिक्टा सिँचाइबाट २२ हजार हेक्टर र अन्य विभिन्न बोरिङ र सिँचाइबाट गरेर करिब सात हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले रोपाइँ समयमै सम्पन्न भएको हो ।
