२०८३ साउन २२ , शुक्रबार 8, August 2026, Saturday

अमेरिकामा एक नेपालीद्वारा श्रीमती र छोराको हत्या गरी आत्महत्या

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २६ गते सोमबार

अमेरिकाको टेक्सस राज्यको डालास सहरमा भएको गोली काण्डमा एकै परिवारका तीन नेपालीको मृत्यु भएको छ । डालास प्रहरीका अनुसार शनिबार बिहान २ः१० बजे डडली स्ट्रिटको १९०० ब्लकमा भएको यो घटनामा ५३ वर्षीय ललित प्रधानले आफ्नी ३७ वर्षीया पत्नी रञ्जना श्रेष्ठ र तीन वर्षीय छोरा प्रनिश प्रधानलाई गोली हानी हत्या गरेका थिए ।

त्यसपछि ललितले सोही पेस्तोल प्रयोग गरी आफूमाथि गोली प्रहार गरेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार रञ्जना र प्रनिशको घटनास्थलमै मृत्यु भएको थियो भने ललितलाई अस्पताल पुर्याएपछि मृत घोषणा गरिएको थियो । ललित लामो समयदेखि डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए ।

घटनाको एक दिनअघि उनले आफ्नो फेसबुकमा लामो समयदेखि तनावमा रहेको र काममा उपस्थित हुन नसकेको उल्लेख गरेका थिए । उनले लेखेका थिए, ‘मेरो परिवार र मैले सरकारी सेवाहरू प्राप्त गर्न सकेका छैनौं, जसले हामीलाई कठिन परिश्रम गर्न बाध्य बनाएको छ ।’ नेपाली समाज टेक्सस (एनएसटी)का महासचिव विजय भुसालका अनुसार ललित भुटानी शरणार्थी र रञ्जना नेपाली मूलकी थिइन् ।

‘हामी प्रहरीसँग निरन्तर सम्पर्कमा छौं र नेपालमा आफन्तहरूसँग समन्वय गर्ने प्रयास गरिरहेका छौं,’ भुसालले भने, ‘हामी संस्थागत रूपमा आफन्तहरूसँग जोडिन र शव नेपाल पठाउने प्रक्रियामा सहयोग गर्न प्रयासरत छौं ।’ प्रहरीले यो घटनालाई हत्यापछि आत्महत्याको रूपमा प्रारम्भिक अनुसन्धान गरेको छ ।

एनएसटीले नेपालमा रहेका आफन्तहरूसँग समन्वय गर्न र आवश्यक सहयोग प्रदान गर्न पहल गरिरहेको छ । यसअघि दुई महिनाअघि जुन ५ मा भर्जिनिया राज्यमा पर्ने मनासस सहरमा एकै परिवारका चार जना नेपाली मृत फेला परेका थिए । मनासस घटनामा पनि प्रहरीले हत्यापछि आत्महत्या भएको जनाएको थियो ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमबार