जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको भेरी नगरपालिका–१ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा चालक भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो ।
भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको उदय युवा क्लब मुसीकोट १३ को नाममा रहेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स गएराति दुर्घटना भएको जानकारी दिए ।
अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले उकालो जाने क्रममा भित्तामा ठोक्किँएर एम्बुलेन्स करिब २०० मिटर तल खसेर दुर्घटना भएको बताए । राति घटना भए पनि स्थानीयहरुले बिहान घाँस काट्न जाने क्रममा थाहा पाएर प्रहरीलाई खबर गरेको थापाले जानकारी दिँदै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको बताए ।
