प्यालेस्टाइनी लडाकु समूह हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको सकुशल रिहाइको लागि अन्तिम आशा बोकेर उनकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् ।
करिब दुई वर्षदेखि हमासको कब्जामा रहेका छोराको अवस्था अज्ञात रहँदा विक्षिप्त बनेकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज (सोमबार) बिहान ९ बजे फ्लाई दुबईको विमानबाट इजरायलका लागि उडेका हुन् ।
विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायली सरकारकै पहलमा उनीहरुलाई त्यसतर्फ लागेका हुन् । नेपालस्थित इजरायली दूतावासले नै उनीहरुको टिकटको व्यवस्था गरेको हो । इजरायलमा रहँदा उनीहरूले त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै, संयुक्त राष्ट्रसंघमार्फत विपिनको रिहाइका लागि पहल गर्ने उद्देश्यले यो भ्रमण तय भएको हो । इजरायलले नै पीडित परिवारलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याएर हमासमाथि दबाब बढाउने रणनीति लिएको छ ।

के थियो घटना ?
सुदूरपश्चिम विश्वविद्यालयबाट कृषिमा स्नातक गरेका विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत २०८० भदौ अन्तिम साता इजरायल गएका थिए । तर, २०८० असोज २० गते (अक्टोबर ७, २०२३) मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा अप्रत्याशित आक्रमण गर्यो ।
सोही आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो । आक्रमणको समयमा हमासले फालेको ग्रिनेडलाई बाहिर फालेर अन्य साथीहरुको ज्यान बचाउने क्रममा विपिन अपहरणमा परेको उनीसँगै रहेका साथीहरुले बताएका थिए ।
आक्रमणको केही समयपछि इजरायली रक्षा फौजले विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको एक भिडियो सार्वजनिक गरेको थियो, तर त्यसयता उनको अवस्थाबारे कुनै ठोस जानकारी बाहिर आएको छैन ।
यद्यपि, इजरायली सरकारले उनी जीवितै रहेको सूचना पाएको दाबी गर्दै आएको छ, तर हमासले उनको अवस्थाबारे केही बताएको छैन, जसले परिवारलाई आशा र निराशाको दोसाँधमा राखेको छ ।
विपिनको रिहाइका लागि परिवारले नेपालमा राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई भेटेर हारगुहार गरे पनि कूटनीतिक पहलले ठोस नतिजा दिन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरु रुँदै प्रवेश गरेको दृश्यले सबैलाई भावुक बनाएको थियो ।
सत्यपाटी