प्यालेस्टाइनी लडाकु समूह हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीकी खोजीमा आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् । इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पा आज विहान ९ बजे त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
नेपालस्थित इजरायली दूतावासले नै उनीहरूलाई इजरायल लगेको हो । ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए । हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए । हमासले विपिनसहित २५१ जनालाई बन्धक बनाएको थियो ।

विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन इजरायल सरकारकै सहयोगमा विपिनकी आमा पद्मा र बहिनी पुष्पा त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो । ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका विपिनलाई हमास समूहले २०८० सालको असोज २० गते बन्धक बनाएको बताइएको छ ।
हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन । युद्ध सुरुको भएको केही समयपछि इजरायल सुरक्षा फौज आइडीएफले बन्धक अवस्थाका विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडिओ सार्वजनिक गरेको थियो । त्यसपछि विपिनबारे कुनै जानकारी आएको छैन । ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत टीकापुर कृषि क्याम्पसका ४९ जना विद्यार्थी २०८० भदौ अन्तिम साता इजरायल गएका थिए ।
हमासको आक्रमणमा परेर इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए । हमासले फालेको ग्रिनेड अर्कोतर्फ फालेर नेपाली विद्यार्थी जोगाउने विपिनलाई हमासले बन्धक बनाएर लगेको थियो । विपिनको उद्धारका लागि परिवारका सदस्यले कयौं पटक राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च पदस्थ व्यक्तिलाई भेटिसकेका छन् । सरकारले कूटनीतिक पहल जारी राखेको बताए पनि हालसम्म उपलब्धि देखिएको छैन । थप अन्तर्राष्ट्रिय दबाब दिन इजरायलले आमा र बहिनीलाई उतै लैजान लागेको हो ।




सत्यपाटी