आज साउनको अन्तिम सोमबार पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ ।
साउन महिनाको हरेक सोमबार व्रत बसेर शिवको पूजा गर्दै आएका भक्तजनले आज विधिपूर्वक व्रत समाप्त गर्दैछन् । साउनको सोमबारलाई भगवान् शिवको प्रिय बार मानिन्छ । यस दिन व्रत बसेर पूजापाठ र दान गर्दा सुख प्राप्त हुनाका साथै परिवारमा शान्ति प्राप्त हुने विश्वास छ ।
आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, बाँकेको बागेश्वरी,तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायत शिवालयमा भक्तजनको बिहानदेखि घुइँचो लागेको छ ।

आजको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ ।
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिने र मनोकांक्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो सोमवारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले आज गोदान, पूर्णपात्र लगायत धार्मिक कर्म गरी व्रत समापन गर्दछन् । यस वर्ष साउन ५, १२, १९ र २६ गते सोमबार परेको थियो ।
सत्यपाटी