बंगलादेशको रगपुर जिल्लास्थित मोकिमपुर मिठापुकार गोपालपुरकी २६ वर्षीया लाबोनी बेगम हाल रौतहटमा अलपत्र परेकी छिन् । सामाजिक सञ्जालमार्फत तीन वर्षसम्म प्रेम सम्बन्धमा रहेकी उनले रौतहटको गौर नगरपालिका–६ सबगढाका शेष महताब आलमसँग अनलाइन विवाह गरेर नेपाल आएकी थिइन् ।
तर विवाहको दुई सातामै घरबाट निकालिएको उनको आरोप छ । लाबोनीको भनाइ अनुसार, टिकटक, फेसबुक र ईमोमार्फत आलमसँग चिनजान भएको थियो । करिब तीन वर्षको प्रेम सम्बन्धपछि दुवैले बंगलादेशको गाजीपुर अदालतमा ‘कोर्ट म्यारिज’ गरेका थिए । आलम त्यतिबेला कुवेतमा रोजगारीमा थिए ।
लाबोनी जेठ २८ गते नेपाल आएकी थिइन् । आलम जेठ २४ गते मात्र कुवेतबाट फर्किएका थिए । विवाहपछि श्रीमानको घरमा बसेकी लाबोनीलाई असार १६ गते, अर्थात् दुई सातामै, घरबाट निकालिएको लाबोनीको भनाइ छ । निकालिएपछि लाबोनी बंगलादेश फर्किइन् । तर साउन १५ गते श्रीमानकै बोलावटमा पुनः नेपाल आइन् ।
यो पटक पनि आलमको परिवारले उनलाई घरमा बस्न नदिएको उनको गुनासो गरेकी छिन् । अहिले उनी छिमेकी नजरा खातुनको घरमा आश्रय लिएर बसिरहेकी बताइन् । लाबोनीका अनुसार, साउन १५ गतेदेखि आलमको घरमा ताला लगाइएको छ र परिवारका सदस्य तथा श्रीमान् दुवै सम्पर्कविहीन छन् ।
लाबोनीले जिल्ला प्रहरी कार्यालय रौतहटसहित निकायमा न्यायका लागि गुहार मागेकी छिन् । तर, जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक रायका अनुसार उनी स्वेच्छाले नेपाल आएकी भएकाले कानूनीरूपमा अन्याय भएको मानिँदैन । गौर नगरपालिका–६ का वडाध्यक्ष अवध बिहारीप्रसादले भने, ‘जुन देशकी महिला भए पनि कानूनी रूपमा विवाह गरेर घर आएकी छिन् भने उनलाई वैवाहिक अधिकार दिनुपर्छ ।’
सत्यपाटी