मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ ।
सुदूरपश्चिम प्रदेश लगायत कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका धेरै र देशका बाँकी पहाडी र तराइका भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती र कर्णाली प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यस्तै, रातिको समयमा भने देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू–भागका केही स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
सप्तकोसीमा पानीको बहाव बढ्दो, २८ ढोका खोलिए
लगातारको वर्षापछि सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्र्वाटरका सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाका अनुसार, शनिबार (साउन २४) राति ९ः०० बजे गरिएको मापनमा कोसी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४३० क्युसेक पुगेको छ ।
मापन केन्द्रका अनुसार, कोसी ब्यारेजका ५६ मध्ये हाल २८ ढोका खोलिएका छन् । कोसी ब्यारेज हुँदै पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेतस्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोही अनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ । हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति नभएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । केही दिनदेखिको लगातार वर्षाका कारण जलसतह बढेको हो ।

