भूमि समस्या समाधान आयोगले बाँकेमा एक हजार १३ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासी र अव्यवस्थितलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरेको छ । कोहलपुर नगरपालिका–१ मा विभिन्न चरणमा गरी उनीहरूलाई जग्गा धनी प्रमाणपूर्जा वितरण गरिएको भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जानकारी दिए ।
उनका अनुसार तीमध्ये ८९६ जना अव्यवस्थित बसोबासी र ११७ जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासी रहेका छन् । अव्यवस्थित बसोबासीले बढीमा रु पाँच लाखसम्म राजस्व तिरेर र सबैभन्दा कम रु १२ हजारसम्म राजस्व तिरेर जग्गाको जग्गाधनी प्रमाणपूर्जा लिएको अध्यक्ष खनालको भनाइ छ ।
‘अधिकांश स्थानीय तहमा जग्गा नाप नक्साको काम चलिरहेको छ, प्रक्रिया पुगेकालाई लालपूर्जा वितरण जारी छ,’ उनले भने । उनका अनुसार हाल कोहलपुर नगरपालिकाका सबै १५ वडामा नाप नक्साको काम सम्पन्न भएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं.३ र ४, बैजनाथ–७, खजुरा–६ र जानकी–५ मा नापनक्साको काम सम्पन्न भएर पूर्जा वितरण अघि बढाइएको छ ।
जिल्लाको राप्तीसोनारी ३, ५, ७ र ९, बैजनाथ ७ र ६, खजुरा ४ र ५ नेपालगन्ज उपमहानगरपालिका २० मा नाप नक्सा सकेर पुर्जा वितरण सुरु गर्न थालिएको अध्यक्ष खनालले बताए । राप्तीसोनारी–१, बैजनाथ–१, जानकी–४, नेपालगन्ज–१८ र १९ मा नाप नक्साका लागि तयारी भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार नरैनापुर गाउँपालिकामा निवेदन दर्ता र निस्सा वितरण भइरहेको छ ।
त्यस्तै डुडुवा गाउँपालिकाको वडा नं.६ को निवेदन दर्ता र निस्सा वितरण सुरु हुन लागेको आयोगले जनाएको छ । त्यहाँ थप दुई हजार ४१५ जग्गाधनी प्रमाणपूर्जा वितरणका लागि तयारी छ । आयोगका अनुसार बाँकेमा हालसम्म ५३ हजार ७०५ जग्गाधनी प्रमाणपूर्जा वितरण गरिने छ । जसमध्ये आठ हजार ३०० निकुञ्ज क्षेत्रभित्रका छन् । आयोगले जारी गरेको दोस्रो र तेस्रो सूचनाबाट करिब १५ हजार सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको आयोगका अध्यक्ष खनालले बताए ।
