२०८३ वैशाख २७ , आइतबार 10, May 2026, Sunday

बडीमालिका दर्शन गरेर फर्किदै गर्दा भीरबाट लडेर विप्लवको मृत्यु

सत्यपाटीसत्यपाटी । बाजुरा । २०८२ साउन २३ गते शुक्रबार

सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बाजुराको बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक इकवाल हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् । मृतक पूर्व शिक्षामन्त्री देवीप्रसाद ओझाका छोरा हुन् ।

मन्दिरबाट करिब एक घण्टा तल झरिसकेपछि ओझा भीरबाट चिप्लिएर करिब ७०० मिटर तल खोँचमा खसेका थिए । राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ । प्रहरीले ओझा राति नै मन्दिरबाट फर्किएको हुन सक्ने र अँध्यारोमा बाटो ठम्याउन नसक्दा दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ । उच्च हिमाली र कठिन भौगोलिक क्षेत्रमा रात्रिकालीन यात्रा अत्यन्तै जोखिमपूर्ण मानिन्छ ।

आज (साउन २३ गते) बडिमालिकामा मुख्य पूजा लाग्ने दिन हो । यही अवसरमा पूजा तथा दर्शनका लागि उनी बडिमालिका पुगेका थिए । सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठका रूपमा रहेको बडिमालिकामा हरेक वर्ष जनैपूर्णिमाको अवसरमा भव्य मेला लाग्ने गर्दछ, जहाँ देशभरबाट हजारौं तीर्थयात्री पुग्ने गर्दछन् ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार