२०८३ साउन ४ , सोमबार 21, July 2026, Tuesday

अवैध ढंगले खाडी मुलुक जान लागेका ४० महिला दिल्लीबाट फिर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन २३ गते शुक्रबार

अवैधरूपमा भारत हुँदै घरेलु कामदारको रुपमा तेस्रो मुलुक जान लागेका ४० नेपाली महिलालाई प्रहरीले भारतको राजधानी नयाँ दिल्लीबाट उद्धार गरेको छ । घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान, दुबई लगायतका खाडी मुलुकमा जान लागेका उनीहरूलाई दिल्लीबाट उद्धार गरेर काठमाडौँ फर्काइएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले उनीहरूलाई प्रहरीको मानव बेचविखन ब्युरोको जिम्मा लगाएर बिहीबार साँझ गाडीमार्फत काठमाडौँ पठाइएको जानकारी दिए । उनले दिल्लीबाट फिर्ता आएका उनीहरूलाई रुपन्देहीमा रिसिभ गरेर काठमाडौँ पठाएको बताएका छन् ।

पाण्डेले भने, ‘जिल्ला प्रशासन कार्यालयमा उनीहरूको संक्षिप्त बयानसँगै अभिलेख राखिएको छ । उद्धार गरिका महिला विभिन्न उमेर समूहका छन् । अविवाहित युवतीहरू पनि त्यो समूहमा छन् ।’ उनीहरु गैरकानूनी रूपमा दिल्ली पुगेको थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले बुधबार राति उद्धार गरेको थियो ।

दूतावासले समन्वय गरेर महिपालपुरका विभिन्न होटलहरूबाट ६३ जना नेपाली महिलालाई निकालेको थियो । त्यसमध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारीमा रहेको पाइएको दूतावासले जनाएको छ । उनीहरूलाई भने छाडिएको दूतावासका अधिकारीहरूले बताएका छन् । नेपाल फर्काइएका ४० मध्ये ३१ जना कुवेत, चार जना ओमन, चार जना दुबई र एक जना साउदी जाने तयारीमा थिए ।

उनीहरूलाई नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दलालहरूले दिल्ली पुर्याइएको खुलेको छ । यसअघि साउन ८ गते पनि ४७ जना नेपाली महिला दिल्लीबाट नेपाल फर्काइएका थिए । उनीहरू भिजिट भिसामा कुवेत जाने तयारीमा थिए । उनीहरू दलाललाई मोटो रकम बुझाएर भिजिट भिसामा कुवेत जान लागेका अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार