गएराति देशका धेरै ठाउँमा वर्षा भएको छ । मधेश प्रदेशसहित तराई र पहाडका विभिन्न ठाउँमा राति मध्यमदेखि ठूलोसम्म पानी परेको हो । राति सिन्धुपाल्चोक, उदयपुर, गोरखा र बर्दियामा पानी परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि केही ठाउँमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र तराई भूभागमा धेरै र देशका बाँकी पहाडी भूभागका केही स्थान तथा मधेश र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
लुम्बिनीको तराई लगायत कोशी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी र बागमती प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र बाग्मतीका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ ।
देशभर मनसुनको प्रभाव रहे पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको महाशाखाले जनाएको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सत्यपाटी