केही सातायता प्रत्येक दिन जहाजहरू ग्राउण्डेड भएका छन् । ग्राउण्डेड प्राविधिकभन्दा पनि जहाजसँग चरा ठोक्किनुले हो । सुन्दा पनि अचम्म लाग्न सक्छ, स–साना चरा ठोक्किनाले पनि जहाज ग्राउण्डे हुने हो र ? तर वास्तविकता यही नै हो ।
उडान अवतरणमा रहेका जहाजसँग चरा ठोक्किदा जनधनको ठूलो क्षति भएको विभिन्न तथ्यांकहरू छन् । जनकपुर विमानस्थलमा विगत दुई दिनयता रात्रि उडानमा चरा ठोक्किएको छ । यसले जहाजको उडान अवतरणलाई निकै जोखिम बनाएको छ ।
जनकपुर विमानस्थलमा पछिल्ला घटना
जुन १३ – दिउँसो अवतरणका क्रममा बर्ड स्ट्राइक
जुन २६ – विहान अवतरणका क्रममा बर्ड स्ट्राइक
जुलाई ५ – रनवेमा जहाजसँग स्याल ठोक्किएको
जुलाई १८ – विहान अवतरण क्रममा बर्ड स्ट्राईक
जुलाई २३ – रनवेमा स्याल देखिँदा जहाज काठमाडौंँफिर्ता
जुलाई ३० – अवतरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त
अगस्त ५ – रात्रिकालिन अतवरणका क्रममा चरा ठोक्किएको
अगस्त ६ – रात्रिकालिन अतवरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किँदा प्रोपेलर क्षतिग्रस्त

प्लेनको पखेटामा चरा ठोक्किएपछि भएको क्षति ।
त्यसैगरि आज पनि बिहान पनि काठमाडौँ भद्रपुर उडानमा जहाज ओभरसुट गर्नुपरेको थियो । कारण फेरि विभिन्न चराहरूको आउजाउ । विभिन्न अनलाइन न्युज पोर्टल तथा सामाजिक सञ्जालमा विमानस्थलभित्र चितुवा, स्याल देखिएका भिडिओहरू प्रशस्तै भेट्न सकिन्छ ।
विमानस्थलभित्र रहेका ठूलठूला झाडी एवं घाँस समयमा नपन्छाउँदा, नसम्याउँदा यस्ता समस्या बढ्नु स्वभाविक हो । वर्षाको बेला रनवे वरिपरि किरा निस्कँदा चराहरू झुम्मिन्छन् । यी स–साना समस्याहरूलाई समयमै ध्यान नदिँदा उडानहरू जोखिम बन्दै गएको छ ।
चरा ठोक्किएपछि जहाजलाई मिहिन ढंगले परीक्षण गर्नुपर्छ । मर्मतसम्भार गर्दा थप समय खर्चिनु पर्छ । यसले उडान विलम्व तथा रद्द गर्नुपर्ने पनि हुन्छ । समयमै उडान भर्न नपाउँदा विमान कम्पनी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।
नियमित मर्मतसम्भार अत्यन्तै महँगो हुँदै गइरहेको अवस्थामा यस्ता समस्याले झन् विमान कम्पनीहरूको आर्थिक व्ययभार बढाएको छ । बुद्ध एयरले ‘बर्ड तथा एनिमल एक्टिभिटिज’ रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । साथसाथै विमानस्थल बाहिर सडेगलेका खाद्यपदार्थ, सिनो नफाल्न जनजागरण कार्यक्रम गर्न पनि आवश्यक रहेको छ ।
