नेपालको सबभन्दा अग्लो कालीकोटको पचाल झरना सरकारले पर्यटकीय गन्तव्यमा सूचीकृत भएसँगै पचाल झरनाका बारेमा क्युआर कोडबाट जानकारी लिन सकिने भएको छ । आर्थिक वर्ष २०८२–०८३ का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालका १०० प्रमुख गन्तव्यमध्ये कालीकोटको पचाल झरनालाई ६४ औं स्थानमा सूचीकृत गरेसँगै क्युआर कोडबाटै जानकारी लिन पाइने भएको हो ।
झरनाको प्रचार–प्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्युआर कोड बनाएर पर्यटन बोर्डले गाउँपालिकालाई हस्तान्तरण गरेको पालिकाका सूचना प्रविधि अधिकृत प्रकाशकुमार कठायतले बताए । पचाल झरनाको प्रचारप्रसारका लागि नेपाल पर्यटन बोर्ड र युएनडिपीको सहकार्यमा सूचना प्रविधिमैत्री क्युआर कोड बनाएर पर्यटन बोर्डमा राखिएको र एउटा क्युआर गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।
पचाल झरना गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमले भनिन्, ‘क्युआर कोडको फ्रेम मैले बुझेर ल्याइसकेको छु । यसले आन्तरिक र बाह्य पर्यटकलाई सूचना लिन सहज हुनेछ । पचाल झरनाको बारेका क्युआर कोडबाट जानकारी लिन सक्नुका साथै होमस्टे, प्रतीक्षालय, स्यासलङसहितको बाटोसमेत तयार भएको छ ।’ कालीकोटको पचाल झरना गाउँपालिका–३ मा पर्ने पर्यटकीय पचाल झरना ३८१ मिटर अग्लो रहेको गाउँपालिकाले दाबी गर्दै आएको छ ।
त्यसअघि नेपालको सबैभन्दा अग्लो भनिँदै आएको तेह्रथुमको ह्यातुङ झरनाको उचाइ ३६५ मिटर मात्र छ । समुद्री सतहबाट ९७० मिटर उचाइमा रहेको एक ठाउँमा थोरै ठोक्किएको लम्बाइ जोड्दा पचाल झरनाको लम्बाइ ४१५ मिटर रहेको गाउँपालिकाका प्राविधिक कुलप्रसाद न्यौपानेले जानकारी दिए । ‘हामीले पचाल झरनाको नापजाँच गर्दा ३८१ मिटर अग्लो छ,’ उनले भने, ‘बीचमा झरना ठोक्किएको भाग जोड्दा ४१५ मिटर अग्लो छ ।’
पचाल झरनामा पुग्न कर्णाली करिडोरको लाफागाडबाट तीन घन्टा पैदल र एक घन्टा गाडीमा पुग्न सकिन्छ । झरनाको शिरमा डाँफे कालिज लगायतका चराचुरुंगी र घोरल, कस्तुरी, बनेल, हिमाली कालो भालु लगायतका वन्यजन्तु पाइन्छन् । पर्यटकलाई खान, बस्न खार्दु गाउँका पाँच घरमा होमस्टे पनि सञ्चालन भएका छन् । झरनासम्म पुग्नका लागि रेलिङसहितको गोरेटो बाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।
पचाल झरनासम्म पुग्ने सडक, पैदल मार्ग, सूचना केन्द्र लगायतका पूर्वाधार विकासका लागि १२ करोड खर्च भएको गाउँपालिकाले जनाएको छ । भारतको रूपैडियादेखि तिब्बतको हिल्सा जोड्ने कर्णाली करिडोर खुलिसकेकाले मानसरोवर जाने पर्यटकलाई आकर्षित गर्न सके यस क्षेत्रका वासिन्दाको जीवनस्तर फेर्न सकिने गाउँपालिका अध्यक्ष देवजंग शाहीले बताए । यसको प्रचारप्रसार र आवश्यक पूर्वाधार अझै पुग्न सकेको छैन । उनले भने, ‘पर्यटन बोर्डको सहकार्यमा काम गर्ने पालिकाको योजना छ ।’ उनका अनुसार व्यवस्थित होटल, पक्की सडक लगायतका पूर्वाधार आवश्यक छ ।

