२०८२ चैत १ , आइतबार 15, March 2026, Sunday

कर्णाली विकास बैंक घोटाला मुद्दामा थुनछेक बहस सकियो

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन २१ गते बुधबार

कर्णाली विकास बैंकको घोटाला मुद्दामा सुनुवाइ सकिएको छ । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको इजलासमा बुधबार कर्णाली विकास बैंकका पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, राजेन्द्रवीर राय, वेदप्रकाश सिंह ठकुरी, भुवन बस्नेतको तर्फबाट थुनछेक बहस सकिएको हो ।

१६ साउनमा चार जना प्रतिवादीको बयान सकिएपछि १७ साउनदेखि सो मुद्दा ’हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै आएको थियो । कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रतिवादी बनाइएका मध्ये १०३ जना फरार छन् भने दुई जनाको मृत्यु भइसकेको छ ।

गत १४ साउनमा जिल्ला सरकारी वकिल कार्यालयले बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायसहित १०९ जनालाई प्रतिवादी बनाउँदा तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रवीर रायलाई २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५९७ रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको छ ।

त्यस्तै एमाले केन्द्रीय सदस्यसमेत रहेका बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्रलाई ८२ करोड ४६ लाख २९ हजार, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई १० करोड ८९ लाख २५ हजार र बैंकका तत्कालीन वित्त विभाग प्रमुख रहेका महादेव भनिने वेद प्रकाश सिंह ठकुरीलाई २४ करोड ६३ लाख ९९ हजार बिगो र जरिवाना माग दाबी गरिएको छ ।

बैंकमा ३ अर्ब २० करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान प्रतिवेदन तयार पारेर सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनको आधारमा रहेर सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति : २०८२ साउन २१ गते बुधबार