२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बाँकेमा ९३.७५ प्रतिशत रोपाइँ

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन २० गते मंगलबार

बाँके जिल्लामा हालसम्म ९३ प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । पछिल्लो दुई दिनयता लगातार वर्षा भइरहेको र सिक्टा सिँचाइ आयोजना लगायतका नहरको सिँचाइले गर्दा यसपटक आशा गरिएभन्दा राम्रो अर्थात् ९३.७५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कृषि प्राविधिक अधिकृत खडक बस्नेतले बताए ।

उहाँले अब जिल्लामा रोपाइँ करिब करिब अन्तिमतिर पुगिसकेको जनाउँदै एक साताभित्र सबै ठाउँमा रोपाइँ सम्पन्न हुने देखिएको बताए । यसपटक जिल्लाका आठ वटै पालिकासँग रोपाइँको अन्तिम विवरण मागिएको जनाउँदै कृषि प्राविधिक अधिकृत बस्नेतले रोपाइँ हुन नसकेको ठाउँमा के कति कारणले नभएको हो सो पनि खुलाएर पठाउन अनुरोध गरिएको बताए ।

अघिल्लो शुक्रवारसम्म बाँके जिल्लामा सबैभन्दा कम रोपाइँ भएको नरैनापुर र जानकी गाउँपालिकामा पनि हाल आएर रोपाइँ अन्तिम चरणमा पुगेको जानकारी आएकोले यसपटक धान खेती राम्रो हुने देखिएको बताए । असार र साउनको शुरुमा जिल्लामा पर्याप्त वर्षा नभए पनि सिक्टा सिंचाइ आयोजनाले निर्माण गरेको नहर तथा अन्य सिँचाइका व्यवस्थाका कारण रोपाइँ निरन्तर भएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

सिक्टाको नहर नपुगेको नरैनापुर र जानकी गाउँपालिकामा अन्य पालिकाको तुलनामा रोपाइँ हुन नसके पनि गत दुईदिनदेखि परेको वर्षाका कारण त्यहाँ पनि राम्रो रोपाइँ भएको कार्यालयले जनाएको छ । बाँकेमा ३६ हजार ५०० हेक्टरमा धान खेती हुने गरेकोमा सिक्टा सिँचाइबाट २२ हजार हेक्टर र अन्य विभिन्न बोरिङ र सिंचाइबाट गरेर करिब सात हजार हेक्टरमा सिँचाइ सुविधा पुगेकोले अकाशको भरमा खेती गर्ने बाँकेका किसानको बाध्यता हट्दै गएको छ ।

प्रकाशित मिति : २०८२ साउन २० गते मंगलबार