म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका जगबहादुर फगामीले वैदेशिक रोजगारबाट फर्किएर सुरु गरेको बाख्रापालनबाट आत्मनिर्भर बनेका छन् । रोजगारको शिलसिलामा तीन वर्ष मलेसियामा काम गरेका फगामीले कम्पनीले पारिश्रमिक नदिएर धोका दिएपछि गाउँ फर्किएर बाख्रापालन सुरु गरेका हुन् ।
विदेशको ठक्करले गाउँ फर्किएर एक बाख्रा किनेर खेती किसानी गरेर परिवार चलाउन सुरु गरेका फगामीको बाख्राले जुम्ल्याह पाठापाठी जन्माउन थालेपछि बाख्राको संख्या बढ्दै गएको थियो । केहि वर्षपछि राम्चे बाबा समूहको ५३ वटा बाख्रा दुई लाख रुपैयाँमा खरिद गरेर बाख्रपालनलाई व्यावसायिक बनाएको फगामीले बताए ।
उनी अहिले गाउँमै उपलब्ध स्रोत, श्रम र सीपको सदुपयोग गर्दै आत्मनिर्भर बन्न सकिन्छ भन्ने उत्कृष्ट उदाहरणको पात्र बनेका छन् । उनी विगत ६ वर्षदेखि बाख्रपालनलाई व्यवस्थित र व्यावसायिक बनाएका हुन् । फगामीले सञ्चालन गरेको ‘सुतारे एकिकृत कृषि तथा पशुपंक्षि फर्म’मा अहिले १५० वटा बाख्रा छन् । फर्ममा रहेका ४० वटा माउ बाख्रा व्याउने छन् । चाडपर्व र विभिन्न पूजाआजामा खसी बोका र पाठापाठीको विक्रि हुने गरेको छ ।
उत्पादन भएका खसी बोका गोठ र खोरबाटै विक्रि हुने गरेको बाख्रापालक कृषक फगामीले जानकारी दिए । उनका अनुसार, बाख्रापालनबाट मासिक ४० हजार देखि ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ । फर्ममा फगामी दम्पतीका साथै छोरा बुहारीले बाख्राहरुको रेखदेख र स्याहार गर्दै आएका छन भने चरनक्षेत्रमा लैजानका लागि एक जनालाई रोजगारि समेत दिईएको छ ।
हिउँदयाममा बेसीँका फाँटमा खेतवारीमा घाँस खुवाएर मल बनाउने बाख्रालाई जेठ लागेपछि भने ढरुवा, धौलापारा, साँधीखर्क लगायतका लेकाली क्षेत्रका वन जंगलमा चरनका लागि लैजाने गरिएको छ । बाख्रापालनबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएका फगामीले बाख्रपालनसंगै भेडापालन गर्ने योजना समेत बताएका छन् । बाख्रपालनलाई थप व्यवसायिक बनाउनका लागि अहिले खोरको क्षमता विस्तार गरिएको छ ।
आर्थिक बर्ष २०८१–०८२ मा अन्नपूर्ण गाउँपालिकाले पशुपंक्षिको लागि गोठखोर निर्माण योजनाबाट उपलब्ध गराएको अनुदानबाट करिब ३०० बाख्रापालन गर्न सक्ने क्षमताको खोर निर्माण गरिएको छ । गाउँपालिकाबाट प्राप्त भएको एक लाख ६६ हजार रुपैयाँ अनुदान रकममा आफुहरूले श्रमदान र नगद साझेदारी गरी करिब साढे तीन लाख लगानीमा व्यवस्थित खोर निर्माण गरिएको हो ।
छोटो समयमै हुर्कने र अन्य पशुपंक्षिको तुलनामा नगद आम्दानी समेत बढी हुने भएकाले सिंगो परिवारले नै बाख्रापालनलाई अंगालेका छन् । विभिन्न समयमा बाख्राहरुमा आउने रोगको पहिचान गरी उपचार गर्न नसक्दा धेरै क्षति व्यहोरेका फगामी परिवारले हार नखाएर बाख्रापालनलाई निरन्तरता दिएकै कारण अहिले सफलता प्राप्त गरेका हुन् ।
आलुसँगै अन्नबालीको खेती किसानी समेत गर्दै आएपनि घरपरिवारको अन्य आम्दानीको स्रोत नहुँदा समेत बाख्रपालनबाटै भएको आम्दानीबाट परिवारले घरखर्च जुटाउँदै आएको फगामीले बताएका छन् । उत्पादन भएका खसीबोका र पाठापाठीको उचित बजारको सुनिश्चित हुन सकेमा बाख्रपालनलाई अझै व्यावसायिक बनाउने फगामी परिवारको योजना रहेको छ ।
सत्यपाटी