दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी २२७ मिलीमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि २०० मिलीमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा २६७ मिलीमिटर वर्षा भएको छ ।
बाँके र दाङमा अति भारी वर्षा हो भने बर्दियामा धेरै भारी वर्षा भएको छ । दाङमा पछिल्लो एक घण्टामै २५ मिलीमिटरभन्दा बढी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो र राति पश्चिम नेपालमा बढी वर्षा हुने जानकारी दिए । यद्यपि अन्य प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ ।
वर्षा गराउने सानो प्रणाली बनेको भएर आज दिउँसो र रातिमा पश्चिम क्षेत्रमा बढी पानी पर्ने उनले बताए । यद्यपि मनसुन न्यून चापीय प्रणालीको असर भने नेपालभरि नै रहेको छ । जसका कारण अझै केहीदिन मनसुन सक्रिय भइरहने छ । पछिल्लो छ घण्टामा मात्र दाङको तुलसीपुर, अम्बापुर, जलकुन्डी, बाँकेको पश्चिम राप्ती, सिक्टा, बर्दियाको मानपुर वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।
सो क्षेत्र भई बहने बबई, पश्चिम राप्ती नदी, डुडुवा खोला लगायत अन्य साना खोलामा आकस्मिक बाढी तथा होचा भूभागमा डुबानको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ । देशभर अधिकांश बदली रहेको छ ।
लुम्बिनी प्रदेशका अधिकांश स्थान, मधेस, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानका साथै कोशी र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आगामी २४ घण्टामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । आगामी केही दिन मधेस प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएको महाशाखाले जनाएको छ ।
सत्यपाटी