मुगुको छायाँनाथ रारा नगरपालिका–१० चराप गाउँमा पाँच दिनअघि वर्षाका कारण घर भत्किँदा ९ घर परिवार आवासविहीन भएका छन् । अविरल वर्षाका कारण चराप गाउँका चार घर पूर्ण र पाँच घर आंशिकरूपले क्षति हुँदा नौं घर परिवार घरविहीन भई छिमेकीहरूको घरमा बस्न बाध्य भएका हुन् ।
भदौ ११ गते देखि १४ गतेसम्म परेको अविरल वर्षाका साउन १४ गते बेलुका ५ बजेतिर चार घर भत्किँदा सँगै जोडिएका अन्य पाँच घरमा आंशिक क्षति भएको स्थानीय देवीकृष्णा बुढाले जानकारी दिए । बुढाका अनुसार घर भत्किँदा मानवीय क्षति नभए पनि घरभित्र रहेका अन्न, भाँडाकुँडा लगायत अन्य उपभोग्य सामग्री र धन माल सबै क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार लगातारको वर्षातले चारवटा घर पूर्णरूपले क्षति भएका र सँगै जोडिएका अन्य घरहरू आंशिक क्षति भएका छन् । आवासविहीन भएकी श्रृजना बढुवालले भनिन्, ‘अहिलेसम्म कुनै पनि निकायले त्रिपालसम्म उपलब्ध गराएको छैन । छिमेकीहरूको घरमा शरण लिनुपरेको छ । खाने अन्न र भाँडाकुँडा सबै भत्किएका घरभित्र रहे छिमेकीहरूले दिएको अन्नपानी खाने गरेका छौं । मुचुल्का गर्न प्रहरी मात्र पुगेको छ ।’
बढुवालका अनुसार घर भत्किएको ५–६ दिन पुगिसक्दा पनि सरकारी निकायबाट अहिलेसम्म कसैले राहतको सहयोग गरेका छैनन् । छायाँनाथ रारा नगरपालिका–१३ थार्पका हाल स्पेनमा बस्दै आएका अक्कल बोहोराले पीडित घर परिवारलाई १ बोरा चामल त्रिपाल, अन्य उपभोग्य सामग्री उपलब्ध गराएको उनले बताइन् । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डेले राहत उपलब्ध गराई अनुमोदन गर्नुपर्ने भएकाले केही ढिलाइ भएको बताए ।
सत्यपाटी