२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

फिल्म ‘मोहर’ सेन्सर पास, साउन २३ गतेदेखि रिलिज

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १९ गते सोमबार

आगामी शुक्रबार अर्थात् साउनको २३ गतेदेखि रिलिजमा आउन लागेको फिल्म ‘मोहर’ सेन्सर पास भएको छ । आइतबार भएको फिल्मको सेन्सरमा चलचित्र सेन्सर बोर्डले फिल्मलाई ‘पीजी सर्टिफिकेट’ दिएको छ । अब यो फिल्म हेर्नका लागि १६ वर्षमुनिका बालबालिकाले बाबुआमाको साथमा हल पुग्नुपर्नेछ ।

फिल्मलाई सेन्सरले कुनै पनि दृश्य काट बिना ‘पीजी सर्टिफिकेट’ दिएको निर्माता चुम्बनजंग शाहीले बताए । ‘फिल्मको विषयवस्तु र निर्माणलाई लिएर सेन्सरबाट पनि तारिफ भएको छ,’ शाहीले भने, ‘सेन्सरको प्रतिक्रियाले हामी सार्वजनिक प्रदर्शनका लागि उत्साहित छौँ ।’ फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो फिल्म ओम प्रतीकको लेखन तथा निर्देशनमा तयार पारिएको हो ।

फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुनजंग शाही, लक्ष्मी गिरी, सारा शर्मा, रवीन्द्र झा लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको प्रचार प्रसारमा नायक पल शाह र गायक थानेश्वर गौतम अहिले उपत्यका बाहिर छन् । उनीहरू विभिन्न ठाउँमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेको निर्माता शाहीले बताए ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार