२०८३ असार २८ , आइतबार 12, July 2026, Sunday

जङ्गली जनावर धपाउन खेतबारीमै बास

सत्यपाटीसत्यपाटी । बैतडी । २०८२ साउन १९ गते सोमबार

जङ्गली जनावरले मकैबाली लगायतका बालीनाली र तरकारी सखाप पार्न थालेपछि बैतडीका किसानहरुको बास खेतबारीमै हुन थालेको छ । बँदेल, दुम्सी, बाँदर, भालुले अन्नबाली नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका हुन् । जिल्लाका १० वटै स्थानीय तहमा जङ्गली बँदेलले मकैबालीमा क्षति पुर्याउने गरेको छ ।

दोगडाकेदार गाउँपालिकामा जङ्गली बँदेलले मकैबाली नष्ट गरेर हैरान बनाएको स्थानीय चन्द्रसिंह विष्टले बताए । मकैबाली जोगाउन रातदिन बारीमै बास बस्दै आएको उनको भनाइ छ । उनले भने, ‘रातदिन जाग्राम बस्दासमेत मकैबाली जोगाउन मुस्किल भएको छ । खेतबारीमा टहरा बनाएर पहरा दिँदा मकैबाली जोगाउन सकिएको छैन ।’

भर्खरै घोगा लाग्न लागेको मकैबाली बँदेलले नष्ट गर्न थालेपछि किसानहरुमा भोकमरी हुने चिन्ता छाएको पुर्चौडी नगरपालिकाका पुरनसिंह ऐरले बताए । बैतडी मकै उत्पादन हुने जिल्ला भएकाले यहाँको दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, सूर्नया गाउँपालिका, पञ्चेश्वर गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा मकै जोन कार्यक्रम सञ्चालनमा छ ।

ती स्थानीय तहमा किसानलाई मकैबाली जोगाउन धौ–धौ परेको मकै जोन कार्यालयकी नायब प्राविधिक सहायक भावना भट्टले बताए । हरेक वर्ष मकैबालीमा जङ्गली जनावरले क्षति पु¥याउने गरेको पञ्चेश्वर गाउँपालिका–०४ का किसान रामदत्त भट्टले बताए ।

उनले भने, ‘मकै जोगाउन खेतमा टहरा बनाएर बस्दा जङ्गली बँदेलले मकैबाली नष्ट गर्ने गरेको छ । रातभरि जाग्राम बस्दासमेत मकैबाली जोगाउन धौ–धौ परेको छ । हरेक वर्ष मकैबाली जोगाउन दुई महिना अनिदो बस्नुपर्छ ।’ बैतडीमा १२ हजार १०० हेक्टरमा मकैखेती गरिन्छ । जङ्गली जनावरकै कारण मकैखेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कतिपयले खेत बाँझै राखेका छन् ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार