हालसम्म देशभर ८३.८८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार साउन १८ गतेसम्म १३ लाख ७८ हजार ९६६ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये ११ लाख ५६ हजार ६८७ हेक्टरमा धान रोपिएको हो ।
गत वर्षको साउन २० गतेसम्म ९६.४७ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार अहिले देशभर मनसुन सक्रिय भएकाले बाँकी रोपाइँ चाँडै सम्पन्न हुने अपेक्षा गरिएको छ । प्रदेशगत विवरण हेर्दा सुदूरपश्चिम प्रदेश ९९.७२ प्रतिशत रोपाइँ पुरा गरी सबैभन्दा अगाडि रहेको छ ।
उक्त प्रदेशमा १ लाख ७६ हजार १५१ हेक्टरमध्ये १ लाख ७५ हजार ६५२ हेक्टरमा रोपाइँ भइसकेको छ । कर्णाली प्रदेशमा पनि ९६.४७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कर्णालीमा ४१ हजार ४२ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ५९४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।
यसैगरी, लुम्बिनी प्रदेशमा ९५.९६ प्रतिशत, गण्डकीमा ८८.९७ प्रतिशत, बाग्मतीमा ९२.९२ प्रतिशत, कोशी प्रदेशमा ८९.०३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । तर, मधेश प्रदेशमा भने रोपाइँको गति ढिलो देखिएको छ ।
३ लाख ७२ हजार ६४५ हेक्टर रोपाइँ योग्य क्षेत्रफलमध्ये हालसम्म ५७.२८ प्रतिशत अर्थात् २ लाख १३हजार ४३८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । धान उत्पादनमा मुख्य योगदान दिने क्षेत्रहरूमध्ये एक रहेको मधेश प्रदेशमा पानी अभाव र पूर्वाधार समस्या जस्ता कारणले गर्दा रोपाइँ सुस्त गतिमा भइरहेको बताइएको छ ।
