२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

नरैनापुर गाउँपालिकाभित्रका दर्जन घर डुबानमा

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १९ गते सोमबार

आइतबार बिहानबाट परेको अविरल वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका–५ मटैहियाका एक दर्जन घर गोठ डुबानमा परेका छन् । बिहानैबाट भएको निरन्तरको वर्षाले गर्दा मटेहिया गाउँका ११ वटा घरहरु डुवानमा परेको मटेहियाका स्थानीय ज्ञान कनौजियाले बताए ।

उनले पानीको निकास बन्द हुँदा सो स्थानमा रहेका ११ जनाको घर र गोठहरुमा पानी पसेर डुबान भएको बताए । कनौजियाका अनुसार, मटेहिया ५ का स्थानीय भुजई यादव, भुसैली दर्जी, सलिम दर्जी र विनोद मौर्यलगायत ११ जनाका घरहरु डुबेर बस्न नमिल्ने भएका छन् ।

घर डुबानमा पर्दा खाद्यान्न तथा कपडा लत्ता भिजेर क्षति भएको भुजई यादवले बताए । हाल बाँकेमा वर्षा भइरहेकाले डुबान र बाढीको सम्भावना रहेको जनाउँदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले सचेत रहन सम्पूर्ण पालिकावासीसँग अनुरोध गरेका छन् ।

उनले कतै पनि डुबान र बाढी आएमा तत्काल खबर गर्न र अग्लो स्थानमा जान पनि आग्रह गरेका छन् । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले यस वर्ष जिल्लाका १५ हजार घरपरिवार बाढी र डुबानबाट प्रभावित हुने पूर्वानुमान गरेको छ ।

डुबान र बाढीको जोखिम कम गर्न विभिन्न उपायहरु अवलम्बन गरिएको पनि समितिले जनाएको छ । यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले पनि वर्षा शुरु भइसकेकाले सचेत र तयारी अवस्थामा रहन जिल्लाका सबै आठवटै पालिकालाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार