२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

दार्चुला र धार्चुला : सिमानाले छुट्याएको तर संस्कृतिले जोडेको सम्बन्ध

सत्यपाटीसत्यपाटी । दार्चुला । २०८२ साउन १९ गते सोमबार
वारि नेपालको दार्चुलाको खलङ्गा, पारि भारतको धार्चुला ।

वारि दार्चुलाको खलङ्गा, पारि भारतको धार्चुला । बीचमा महाकाली नदीमाथि छ–पुरानो फलामे झोलुङ्गे पुल । दुई देशको सीमा, सम्बन्ध र साइनो जोड्ने यो पुल छेउमै भेटिए दार्चुला धापका हरिसिंह धामी । भारतीय भूमिको धार्चुला बजारमा छ उनको किराना पसल । महाकाली नदीले छुट्याएको सीमा वारि होस् वा पारि बस्ने यहाँका मानिसहरूको सम्बन्धमा कुनै सीमा नरहेको स्थानीयबासिन्दा बताउँछन् । नेपालमा घर र भारतमा व्यवसाय गर्ने धामीका लागि पनि पारिपट्टिका बजार, मान्छे र सम्बन्ध यति प्रिय छन् कि उनी त्यसको बखान गरेर थाक्दैनन् ।

‘सिमानाको विवाद भए पनि वारिपारिका नागरिकको सम्बन्ध राम्रो छ । नातागोताको सम्बन्ध झन् बढी प्रगाढ छ । हाम्रा छोरीबेटी उता छन्, उताका यता,’ उनी भन्छन् । भाषा, भेषभुषा, संस्कृति एउटै । जातजाति एउटै । ‘हामीलाई दुःख पर्दा उनीहरू सान्त्वना दिन आउँछन् । उनीहरूलाई पर्दा हामी जान्छौँ । यस्तो सम्बन्ध त अरू ठाउँमा कहाँ होला र,’ धामी भन्छन् । काठमाडौंमा कालापानीको सीमा विवाद उछालिँदा भने सीमामा धरै नेपालीले दुःख पाउने गरेको उनी सुनाउँछन् ।

सीमा विवादको छाया

दशकौँदेखि सुल्झिन नसकेको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादको लामो पृष्ठभूमि छ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्यासमा पर्ने यो भूभागका विषयमा बेलाबेला दुई देशका सरकारहरू नै मनमुटाब र टकराबको स्थितिमा पुग्छन् । तर सीमा विवादको बीचमा परे पनि दार्चुलाको खलङ्गा, भारतको धार्चुला र व्यास उपत्यका क्षेत्रका नागरिकको प्रेम र सद्भाव भने गजबको छ ।

सिमानाले नागरिक र नागरिकताको हैसियत छुट्याए पनि सामाजिक, सांस्कृतिक सम्बन्धको सेतुले उनीहरूलाई अनौठो गरी जोडेको छ । दार्चुला बहुमुखी क्याम्पसकी उप–प्राध्यापक धना धामी पनि नागरिक स्तरको सम्बन्ध सहयोग र सद्भावले भरिएको बताउँछिन् । कतिपय दार्चुलाका मेरै साथीहरूका घर धार्चुलामा छन् । उनीहरू यता पनि बस्छन् उता पनि बस्छन् ।

‘एउटै गाउँ हो कि जस्तो पनि लाग्छ तर जब सवाल सिमाना र स्वाभिमानको आउँछ, स्थिति फरक बन्छ,’ उनी भन्छिन् । उनका अनुसार आधारभूत आवश्यकता पूर्तिका लागि पनि सिमानामा बस्ने नेपालीहरू भारत नगई हुँदैन । ‘आधा दार्चुलावासीले आफ्नो घर पुग्न भारतकै बाटो प्रयोग गर्नुपर्छ । भनेपछि देशको कुरा गर्दा समस्यै समस्या छन्, नागरिकको सम्बन्ध कुरा गर्दा अनौठो प्रेमझैँ झल्किन्छ,’ उनले भनिन् ।

विवाह र व्यापारको बलियो सम्बन्ध

दार्चुलाको ब्यास गाउँपालिकाको राप्ला मालगाउँ ।

धाचुर्ला नजिकै रहेको भारतको गस्कु बजारका भारतीय नागरिक प्रेम धामीको ससुराली दार्चुलाको ब्यास गाउँपालिकाको राप्ला मालगाउँ हो । दुई वर्षअघि त्यही मालगाउँका जयसिंह धामीको तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटना सम्झिँदै उनी भन्छन्, ‘आफ्नै घरको सदस्य बितेझैँ लाग्यो । ससुराल जाँदा पनि उक्त घटना झल्झल्ती सम्झिन्छु । हामीलाई बोर्डरले छुट्याए पनि एकझैँ लाग्छ । कालापानी, लिपुलेकको विवाद हुँदा पनि कसैको पक्षमा बोल्न मन लाग्दैन । दुवैतिर आफ्नै लाग्छन्, कसको पक्षमा बोल्ने ?’

व्यास वडा नं १ छाङ्गरूका सौका समुदायका दीपेश ऐतवालले चार महिनाअघि कुटी गाउँबाट दुलही भित्र्याए । सौका जातिमा तीन दिनसम्म मनाइने परम्परा अनुसार उनले धूमधाम विवाह गरे । कुटी, नावी र गुन्जी गाउँ भारतको नियन्त्रणमा रहे पनि व्यासी सौका जातिको अक्सर विवाह यी र यतै नजिकका भारतीय गाउँतिर हुने गरेको उनले बताए । विसं २०७७ सालमा नेपालको सङ्घीय संसद्ले लिम्पियाधुरा, लिपुलेक र कालापानी भू–भागलाई नेपालको नयाँ नक्सामा समेटे पनि व्यासीहरूको बसोबास रहेको विवादित भूमि कुटी (कुटियाल), नावी (नावियाल) र गुन्जी (गुन्ज्याल) मा जमिनका भोग चलन भने भारतले गर्दै आएको छ ।

ऐतवालले भने, ‘हामी धर्म, संस्कृति, परम्परा र नातागोताको सम्बन्धले बाँधिएका छौँ ।’ दार्चुला खलङ्गाका हिमालय भट्ट व्यास उपत्यकाभित्र वारिपारिका सौका जातिको सम्बन्ध र सदरमुकाममा खलङ्गा र धार्चुलाको सम्बन्ध व्यापारिक र वैवाहिक हिसावले विशेष र विशिष्ट रहेको बताउँछन् । उनी भन्छन्, ‘छाङ्गरू, टिङ्कर, कुटी, नाभी र गुञ्जीका बासिन्दाहरूमा हामी मिलेर बस्नुपर्छ भन्ने अब्बल मान्यता देखिन्छ ।’ दुवै देशतिरका व्यासीहरूको आफ्नै विशिष्ट किसिमको संस्कार–संस्कृति र परम्परा छ ।

‘गाउँमा दुवैतिर प्रधान मुख्य व्यक्ति हुने परम्परा छ । हरेक चार वर्षमा यो नेतृत्व परिवर्तन हुन्छ । गाउँको व्यवस्थालाई चलाउन र अन्य समुदायसँग सम्बन्ध स्थापित गर्ने काम प्रधानले नै गर्छन्,’ दानसिं टिङ्करी भन्छन् । व्यासीहरूका अनुसार नेपालतिर सौका समाज छ भने भारततिर रङ कल्याण समिति छ । दुवैको काम सौका जातिका संस्कृति परम्पराको जगेर्ना गर्ने हो । टिङ्करीले भने, ‘दुवैतिरका सौका जातिको आर्थिक सामाजिक हैसियतमा ठूलो अन्तर छ । भारततिरका सौका समुदायलाई भारत सरकारले आरक्षणको व्यवस्था गरेर धेरै सुविधा दिएको छ तर हामीलाई नेपालतिर बाँच्न पनि मुस्किल छ ।’

कहिलेकाहीँ हुन्छ विवाद

दार्चुला र धार्चुलाका नागरिकबीचको सौहार्द सम्बन्ध कहिलेकाहीँ भने सिमानाको विषयलाई लिएर तनाव र झडपमा पनि परिणत हुन्छ । भारतले महाकाली नदीको बहाव नेपालतिर धकेल्ने गरी तटबन्ध निर्माण गर्दा विवाद हुने गरेको स्थानीय जानकारहरू बताउँछन् । ‘एउटै परिवारझैँ बसे पनि तटबन्ध निर्माणको विवादले बेलाबेला तिक्तता निम्त्याउँछ । दुईतिरका समुदायबीच चिसोपन आउने हो कि भन्ने पनि लाग्छ तर अहिलेसम्म त्यस्तो भएको छैन,’ खलङ्गाका शंकर धामी भन्छन् ।

त्यस्ता विवादहरूलाई नागरिकबीचको लडाइँका रूपमा लिन नहुने उनको भनाइ छ । ‘नदीको धार परिवर्तन हुने गरी तटबन्ध निर्माण हुँदा सदरमुकाम खलङ्गा डुबानको जोखिममा पर्ने चिन्ता हामीलाई हुन्छ । कहिलेकाहीँ ढुङ्गा हानाहान पनि हुन्छ ।’ पछिल्लो पटक विसं २०८१ चैत १० गते तटबन्धको विषयलाई लिएर विवाद भएको थियो ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामी २०७० सालमा महाकालीमा आएको बाढीपछि नेपालतिरको केही भूभाग भारततिर पर्न गएको र पछिल्लो पटक भारतले त्यही जमिन आफ्नोतिर पार्ने गरी तटबन्ध निर्माण गर्न लागेका कारण विवाद हुने गरेको बताउँछन् । अहिले संरचना निर्माण नगर्ने सवालमा दुई प्रशासनबीच सहमति भएको छ । ‘जनस्तरमा विशिष्ट खालको सम्बन्ध छ, शायद यस्तो अन्यत्र देख्न पाइँदैन । तर पनि यस्ता घटनाले कहिलेकाहीँ सामान्य विवाद निम्त्याउँछन्,’ धामी भन्छन् ।

सम्बन्धभित्रका पीडा

फलामे पुलले जोडेको साइनो ।

‘व्यासमा जन्मिनुभन्दा बरु हामी हुम्लामा जन्मिएको भए हुन्थ्यो, यति गाह्रो त हुँदैनथ्यो होला,’ सौका समुदायका अगुवा तथा सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य गेल्वुसिंह बोहरा भन्छन्, ‘सरकार छैन भनूँ त्यो पनि होइन, छ भनूँ हामीलाई हेरिदिने कोही छैन । पारि विकासको रफ्तार छ वारि समस्या मात्रै । राष्ट्रियताको के कुरा गर्नु, आफ्नो आँगन टेक्न अर्को देशको अनुमति लिनुपर्छ । चर्को बोल्यो, आँगन टेक्ने त्यही बाटो पनि बन्द हुन्छ । भोको पेटले कसरी राष्ट्रियताको कुरा गर्न सक्छ ?’

उनी सिमानामा बस्ने नेपाली नागरिकहरूले भोग्नु परेका समस्या सरकारले नहेरेको गुनासो गर्छन् । ‘टिङ्कर र छाङ्गरूका नागरिक कसरी बाँचेका छन् सरकारले हेर्दैन,’ भारततिरका सौका समुदायलाई भारत सरकारले आरक्षण सहित विशेष सुविधा र सहुलियत दिएको प्रसङ्ग उल्लेख गर्दै बोहरा भन्छन् । व्यास–१ का वडाध्यक्ष अशोकसिंह बोहरा भन्छन्, ‘संसारमा यही एउटा देश होला, जहाँ आफ्नो घर जान अर्को देशको अनुमति लिनुपर्छ ।’

भारतको धार्चुलास्थित एसडीएम कार्यालयले प्रदान गर्ने अनुमति पत्र लिएर मात्रै व्यास गाउँपालिका–१ का दुईवटा गाउँ छाङ्गरू र टिङ्कर पुगिने उनी बताउँछन् । जुन अनुमति पत्रको म्याद छ महिनाको हुन्छ । सदरमुकाम खलङ्गाबाट करिब १३० किलोमिटर दूरीमा पर्ने यी गाउँ पुग्न नेपालबाट गारेटो बाटोसमेत छैन । यसपालि भने गारेटो बाटो निर्माण कार्य भइरहेको उनले बताए ।

चट्टान फोड्दै गोरेटो बाटो

गोरेटो बाटो निर्माण हुँदै ।

सङ्घीय सरकारको अनुदानमा व्यास गाउँपालिकाले यसपालि आफ्नै भूमि भएर छाङ्गरू र टिङ्कर पुग्ने गोरेटो बाटो बनाउने लक्ष्य लिएको छ । बाटो निर्माणमा स्थानीयवासी पनि जुटेका छन् । व्यास गाउँपालिकाका जनकसिंह धामी भन्छन्, ‘हामी पनि ज्यानकै बाजी लगाएर गोरेटो बाटो निर्माणमा लागेका छौँ ।’ व्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार ठाउँठाउँमा भत्किएको, महाकालीले बगाएको पुरानो गोरेटो बाटो पुनः निर्माण भइरहेको हो ।

उपाध्यक्ष कुँवरले भने भने, ‘धेरै ठाउँमा चट्टान फोडेर बाटो निर्माण गर्नु पर्ने भएकाले केही ढिलाइ भएको हो । यसपालि पहिलो पटक हामीले व्यासीको कुञ्जा सर्ने परम्परा (बसाइसराइ) नेपालको बाटो भएर नै गर्ने लक्ष्य लिएका छौँ ।’ अहिलेसम्म सदरमुकाम आउन र व्यास पुग्न भारतकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

स्रोत : बीबीसी
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार