२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

देशभर मनसुन सक्रिय, धेरै स्थानमा भारी बर्षा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १९ गते सोमबार

लामो खडेरीका कारण प्रभावित तराईका किसानले राहत महसुस गरेका छन् । विशेषगरी पूर्वी तयाईमा पछिल्लो २४ घण्टामा राम्रो वर्षा भएको छ । वर्षाले धेरै ठाउँमा रोपाइँ भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी तराईमा राम्रो वर्षा भए पनि तराईको पश्चिम भेगमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा भएको छ ।

महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, ‘यसपालि पूर्वी तराईमा रोपाइँ गर्न मिल्ने गरी नै वर्षा भएको छ, तर पूर्वी तराईबाट विस्तारै पश्चिम सर्दै जाँदा भने मनसुन अलि कमजोर हुँदा वर्षा पनि कम हुँदै गएको छ ।’ मनसुनको न्यून चापीय रेखा सरदरस्थानको उत्तरतर्फ नेपालको तराई नजिक रहेकाले पनि सो क्षेत्रमा वर्षा भएको छ ।

देशभर नै मौसम बदली रहेको र खण्डित वर्षा भएको बताउँदै उहाँले काठमाडौँमा पनि आज खण्डिन वर्षा भएको बताइन् । आइतबार चन्द्रागिरि क्षेत्रमा वर्षा हुँदा उपत्यकाको माथिल्लो क्षेत्रको अवस्था सामान्य थियो यस्तै काठमाडौँको नक्सालतिर वर्षा हुँदा विमानस्थल क्षेत्रमा पानी परेको थिएन । यस्तै खण्डित वर्ष अन्य जिल्लामा पनि भएको छ ।

यस्तै आज देशभर वर्षाको सम्भावना छ । हल्कादेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

महाशाखाले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

दाङ, अर्घाखाँची, रुपन्देही र नवलपरासीमा धेरै भारी वर्षा

पछिल्लो २४ घण्टामा देशभर वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मध्यमदेखि धेरै भारी वर्षा भएको हो । यो अवधिमा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको स्टेशनमा मापन भएको महाशाखाले जनाएको छ । अर्घाखाँचीमा ११४ मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै, समाचार तयार पार्दाम्म दाङको एक स्टेशनमा १०२.४, रुपन्देहीमा १०१.८ र नवलपरासीमा १०२ मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको छ ।

यसलाई मौसम विज्ञानको भाषामा धेरै वर्षा भएको भनिन्न । २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनु धेरै भारी वर्षा हुनु हो । लमजुङ, पाल्पा, गुल्मी, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाँकेमा पनि ठूलो वर्षा भएको छ । यी क्षेत्रमा ९० मिलिमिटर वर्षा मापन भएको छ । ५० देखि १०० मिलिमिटरसम्म वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ । आज बिहान धादिङ, बारा, रौतहट र पाल्पामा पनि अत्यधिक वर्षा भइरहेको छ ।

यी क्षेत्रमा वर्षा जारी रहेको महाशाखाले जनाएको छ । आज पनि मौसम बदली भएको छ । सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्ला दिन निरन्तर वर्षा भइरहेको छ । केही ठाउँमा ठूलो वर्षा भएकोले नदीमा जलसतह पनि बढेकाले नदीको तटीय क्षेत्रमा बसोवास गर्नेहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १९ गते सोमबार