२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

मधेसमा ‘अमृत’ वर्षा, धान रोपाइँमा जुटे किसान

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ साउन १८ गते आइतबार
पानी परेपछि धान रोप्न हिलो माटो मिलाउँदै किसान ।

धेरै दिनको प्रतिक्षापछि सुरु भएको वर्षासँगै मधेश प्रदेशका किसान धान रोपाइँमा जुटेका छन् । लामो समयको खडेरीले सुक्खा भएको खेतमा हिल्याउन पुग्ने वर्षा भएपछि किसान धान रोपाइँमा जुटेका हुन् ।

पछिल्लो शुक्रबारदेखि दिनहुँ प्रदेशका सबैजसो स्थानमा वर्षा भइरहेको छ । धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुरका किसान मनोज महतोले लामो खडेरीपछि आएको वर्षाले खेतीमा ज्यान फर्काएको बताए ।

उनका अनुसार जेठ र असार महिनामा पर्याप्त वर्षा नभएकाले धान रोपाइँमा गम्भीर असर परेको थियो । उनले भने, ‘कसैले डिप बोरिङको सहायताले रोपाइँ गरेको भएपनि चर्को घामका कारण बिरुवा सुक्न थालेका थिए । तर हालको वर्षाले बालीलाई नयाँ जीवन दिएको छ ।’

महतोका अनुसार पछिल्लो वर्षा किसान र धानबालीका लागि अमृत समान बनेको छ । सिँचाइ अभावमा रोपिएको बाली सुक्ने अवस्था पुगेको थियो भने त्यससँगै किसानको मिहिनेत खेर जाने अवस्था आइपुगेको थियो ।

अहिलेको वर्षाले सबथोक बचाएको किसान महतोको भनाइ छ । ढल्केबरका अर्का कृषक रामएकवाल यादवले वर्षाले किसान उत्साहित देखिएको बताए । उनले भने, ‘जेठको पहिलो सातापछि वर्षा नहुँदा रोपाइँ रोकिएको मात्र होइन रोपिएको धान पनि सुक्न थालेको थियो ।’

उनका अनुसार वर्षासँगै किसान धान रोपाइँमा व्यस्त भएका छन् । वर्षा नहुँदा मधेश प्रदेशमा धान रोपाइँ प्रभावित हुने अवस्था देखेपछि प्रदेश सरकारले मधेशलाई सुक्खा ग्रस्त क्षेत्र घोषणा गरेको थियो भने सङ्घीय सरकारले तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्रको रूपमा सूचीकृत गरेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.उमेश दाहालका अनुसार पछिल्ला दिनमा मधेशका सबै जिल्लामा वर्षा भएको छ । उनले प्रदेशका सबैजसो स्थानमा वर्षा भएकाले रोपाइँको गति बढेको बताए । उनले भने, ‘असारको सुरूवातदेखि पानी नपरेकोले बिरुवा र बेर्ना दुवै सुक्न थालेका थिए । अहिलेको वर्षाले ती सबैलाई बचाउनेछ ।’

कृषि विकास निर्देशनालयका तथ्याङ्क अनुसार मधेश प्रदेशमा कुल तीन लाख ७२ हजार ६४५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने जमिन छ । साउन १६ गतेसम्म दुई लाख १३ हजार ४३८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । जुन कुल क्षेत्रफलको ५७ प्रतिशत हो ।

सचिव दाहालले अब रोपाइँ क्षेत्रमा वृद्धि हुने बताए । उनका अनुसार पानी पर्ने क्रम कायम रहेकाले साउन महिना भित्रै बाँकी खेतमा पनि रोपाइँ सकिने छ । ढिलो भए पनि योे वर्षाले मधेशका किसान उत्साहित देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार