भारतमा कम्प्युटर इञ्जिनियरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेका छन् । जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा च्याउखेती गरेका हुन् । धनगढीका ३२ वर्षीय बस्नेतले कृषिजन्य वस्तु भारतबाट आउने तर गुणस्तरीय नभने, नेपालमा आउने च्याउ रसायनयुक्त हुने भएकाले अर्गानिक उत्पादनमा केन्द्रित भएको बताए ।
‘भारतबाट पढाइ सकेर आएपछि मलाई विदेश जाने दबाब थियो, तर कृषिमा नयाँ केही गर्नुपर्छ भन्ने सोचले च्याउखेतीप्रति आर्कषण बढ्यो । विभिन्न अध्ययन, अनुसन्धान अनुसार च्याउखेतीमा सम्भावना देखेकाले आधुनिक प्रविधि अपनाएको हुँ,’ उनले भने । किसान बस्नेतले नेपालका सबै होटेलमा च्याउ चीनबाट आएको अध्ययनले देखाएको जनाउँदै यसमा रसायनको प्रयोग बढी हुने भएकाले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने धारणा राखे ।
‘आफ्नै देशमा केही गरौँ भनेर गाभर भ्यालीलाई छनोट गरी आधुनिक प्रविधिमा च्याउखेती सुरु गरेको छु,’ उनले भने । आठ वर्षदेखि च्याउ उत्पादन गर्दै आएका बस्नेतले गौमूत्रसहित जैविक मलको प्रयोग गरेर अर्गानिक खेती गर्छन् । यहाँ डल्ले र पाते च्याउको उत्पादन हुने उल्लेख गर्दै उनले नयाँ अभ्यासका रूपमा ‘लाइन्समेन मसरुम’को पनि उत्पादन गर्न लागिएको जानकारी दिए । उनले लाइन्समेन मसरुमको बजारीकरणका लागि युरोप र युकेका सहरमा कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनले बेमौसमी अवस्थामा पनि प्रतिदिन करिब २०० देखि २५० किलोसम्म र मौसममा प्रतिदिन ४०० किलोम्म च्याउको उत्पादन हुने बताए । ‘लाइन्समेन च्याउको क्याप्सुल बनाएर बाहिर पठाउछौँ, बस्नेतले भने, ‘उत्पादित च्याउ हवाई जहाजमार्फत काठमाडौँ जाने गरेको छ । साथै दाङ, सुर्खेत, बुटवल, धनगढीका भाटभटेनी पसलमा सजिलै पाइन्छ । च्याउका लागि तापक्रम महत्त्वपूर्ण विषय हो । यसलाई १८ देखि २० डिग्री चिसो तापक्रम चाहिन्छ ।’
सबै मिलाएर ५० टनको एसी प्रयोग भएको जानकारी दिँदै उनले यस बाहेक आद्रता व्यवस्थापन गर्न उपकरणको प्रयोग भएको बताए । अहिलेसम्म रु.पाँच करोड लगानी भएको च्याउखेतीमा भारतबाट अवैधरूपमा आउने च्याउ बजारीकरणको प्रमुख चुनौतीका रूपमा रहेको बस्नेतले बताए । ‘भन्सार छलेर आउने च्याउले हाम्रो बजाीकरणमा ठूलो समस्या आएको छ, यसले हामीजस्ता किसानलाई नोक्सान पुर्याइरहेको छ,’ उनले भने ।
करिब एक बिघा जमिन निजी र एक बिघा २० वर्षसम्मका लागि भाडामा लिएर खेती गरिरहेको बस्नेतले जानकारी दिए । भौतिक पूर्वाधारका काम आफ्नो जमिनमा निर्माण भएका भन्दै फार्मका लागि छ जना स्थायी जनशक्ति राखिएको उनले बताए । फार्मको कम्पोष्ट मल उत्पादनमा रु एक करोड मात्र लगानी भएको उल्लेख गर्दै कम्पोट मलको कच्चापदार्थ महाकालीबाट ल्याउने गरेको जानकारी दिए ।
उनले नेपालमा पाइने जडीबुटीयुक्त च्याउको उत्पादन गरेर त्यसको क्याप्सुल र पाउडर बनाएर विदेश निर्यात गर्ने नयाँ सोच रहेको बताए । ‘यसका लागि मैले काम सुरु गरिरहेको छु अब कम्तीमा छ महिना लाग्ला,’ उनले भने । आफूले कमाएको रकम कम्पनीमा लगानी गरेको जानकारी दिँदै बस्नेतले आफूसँगै अन्य दुईजना युवाको समेत सो फार्ममा लगानी रहेको बताए । कृषि ज्ञान केन्द्र बाँकेबाट बस्नेतले अहिलेसम्म करिब रु १६ लाख अनुदान पाएका छन् ।
च्याउ खेतीमा प्रयोग हुने उपकरण नेपालमा गुणस्तरिय नभएको भन्दै सबै उपकरण भारतबाट ल्याएको उनको भनाइ छ । उत्पादन भएको च्याउ रु २०० देखि रु २५० प्रतिकिलोमा बिक्री भइरहेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख विनोद घिमिरेले च्याउखेतीमा युवा किसानले गरेको काम अनुकरणीय भएको उल्लेख गर्दै जिल्लाका केही किसानले सानो अनुदान सहयोगमा पनि ठूलो उपलब्धि हासिल गरेका बताए । जिल्ला समन्वय समितिकी उपप्रमुख सीता कार्कीले लोभलाग्दो च्याउखेती भएको उल्लेख गर्दै किसानले देशभित्रै मेहनत गरे विदेश धाउन नपर्ने बताइन् ।
सत्यपाटी