मनसुनको न्यून चापीय रेखा नेपालको तराईनजिक रहेकाले मधेस प्रदेश लगायत देशभर मनसुन सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बितेका २४ घण्टामा झापा, उदयपुर, सिराहा, दाङ, बाँके, कैलाली लगायत जिल्लामा धेरै भारी वर्षा भएको छ ।
महाशाखाले आज (आइतबार) दिउँसो साढे २ बजेतिर दिएको जानकारी अनुसार सो अवधिमा सबैभन्दा धेरै वर्षा झापाको अनारमनीमा १५१ मिलिमिटर वर्षा भएको छ । मौसम महाशाखाका अनुसार आज राति कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आजको सम्भावित वर्षाबारे थप जानकारी तालिकामा

मौसम पूर्वानुमान महाशाखाले यहाँ ‘दिउँसो’ दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ रातभर अर्थात् साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मको समयका लागि प्रयोग गरेको हो ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो ।
यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो । यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ ।
त्यसैगरी ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ । त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ । यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ ।
सत्यपाटी