बाँकेको कोहलपुर नगरपालिका–११ साझा चोकस्थित सहकारी संस्था लिमिटेड (साझा)ले साउन १६ गते एक सूचना जारी गर्दै साउन १८ गते प्रतिव्यक्ति २० केजीका दरले रासायनिक मल वितरण गर्ने भनी सहकारीमा आवद्ध कृषक शेयर सदस्यहरुका लागि परिचयपत्र र लालपुर्जाको फोटोकपी लिएर आउन सूचित गरायो ।
सोही सूचनालाई आधार मानेर आइतबार बिहानै चार बजेदेखि नै हातमा खाली बोरा समाएर सयौँको संख्यामा किसानहरु सहकारीको गेटबाहिर लामो लाइनमा बसे । घण्टौँ लाइनमा बस्दासमेत उनीहरुले मल पाएनन् र ११ बजेतिर अन्ततः रित्तो बोरा लिएर घर फर्कनुपर्यो । सहकारीको सूचना अनुसार हामी बिहानै ४–५ बजेदेखि नै लाइन लागेर बसेको किसानहरुले बताए ।
‘अहिले सूचना जारी गरेर आज मल वितरण हुँदैन भनेर जानकारी गराए, आठ वर्ष भयो यो सहकारीको शेयर सदस्य बनेको, अहिलेसम्म एक किलो पनि मल यहाँबाट लैजान पाएको छैन,’ कोहलपुर १३ का किसान लालबहादुर बुढाले भने, ‘अहिलेसम्म चार पटक यहाँ आइसकेँ, लाइन बसेर कुपनसमेत पाइनँ, सधैँ बाहिरबाट महङ्गोमा मल किन्नुपर्छ, जताबाट पनि मर्ने हामीजस्ता किसान नै हो ।’
अर्का किसान शेरबहादुर खड्काले बिहान ७ बजेदेखि लाइन बसेर कुपनसमेत नपाएको दुःखेसो पोखे । ‘टाठाबाठाका घरघरमा मल पुग्छ रे, हामीजस्ता निमुखाका कुरा कस्ले सुन्ने ? यहाँ आएको मल हामीले देख्नसम्म पाइन्नँ, २० केजी मलका लागि घण्टौँ लाइन बस्यो, रित्तै बोरा लिएर घर फर्किनुपर्छ,’ उनले भने, ‘न समयमा मल पाइन्छ, न बीउ पाइन्छ, न सिँचाइ छ, आकासे भरमा खेती गर्ने हो तर समयमै केही पनि नपाउँदा कसरी हामीले उत्पादन गर्न सक्छौँ, के खाने, के खुवाउने ?’
‘अहिलेसम्म छ पटक आइसकेँ, कुपन पाउनका लागि घण्टौँ लाइन बस्नुपर्ने, मल त कहाँ हो, कुपन पनि पाइएन्, २० किलो मलका लागि यत्रो दुःख छ, नेताहरु किसानका समस्या समाधान गर्छौँ भन्छन्, ठुलाठुला भाषण गर्छन्, तर हामीले २० किलो मल पाउन पनि यो हालत छ,’ कोहलपुर–१२ का किसान आसिराम सार्कीले भने, ‘अरु के आशा गर्नु ? यो पटकमात्र होइन हरेक वर्षको समस्या हो यो, किसानले कहिल्यै राहत नपाउने भए, कसलाई के भन्ने र ?’
सहकारीले साढे १० बजेतिर एक सूचना जारी गर्दै मल वितरण गर्ने कार्य बढी भिडभाड भएका कारण भन्दै स्थगित गरेको जानकारी गरायो । उक्त सूचना हेरेपछि जम्मा भएका किसान अलमलमा परे । सहकारीका वरिष्ठ सहकारी व्यवस्थापक जुल्फेकार अलीको हस्ताक्षरमा जारी सूचनामा आइतबार प्रतिकिसान २० केजीका दरले मल वितरणका लागि कुपनसमेत वितरण गरिएको तर वितरण गर्दा बढी भीड भएकाले समस्या आएको जनाइएको छ ।
सूचनामा कुपन पाएका किसानहरु सोमबार बिहान १० बजेपछि कुपन लिएर आएमा मल पाउने भनेर उल्लेख गरिएको छ । सूचनामा कुपन नपाएका किसानहरुले अर्को मलको कोटा प्राप्त भएपछि मल वितरण गरिने जनाइएको छ । सहकारीका अध्यक्ष पारसनाथ थारुले सहकारीको सदस्य संख्या बढी भएको तर मलको कोटा कम आउने गरेका कारण समस्या उत्पन्न भएको बताए ।
‘सरकारले आवश्यक मल दिँदैन, मागअनुसार मल पुर्याउन सक्दैन, हामी मध्यस्थकर्ता मात्र हौँ, जति आउँछ, त्यही बिक्री गर्ने, जनताले कुरा कुझ्दैनन्, उनीहरुले सहकारीले मल दिएन भन्छन्, तर हामीसँग हुँदै नभएको मल कहाँबाट ल्याएर वितरण गर्नु ?’ उनले भने, ‘नगरपालिकाको कृषि शाखाले कोटा तोक्छ, कोहलपुरमा अन्य ५–६ वटा सहकारी छन्, उनीहरुका ५–७ सय सदस्य छन्, हाम्रा १० हजार ३०० सदस्य छन्, अनि कोटा तोक्दा एउटै रेसियोमा तोकिन्छ, बराबार भाग लगाएर हामीलाई मल दिइन्छ अनि हामीले कसरी माग धान्न सक्छौँ ?’
उनले असार महिनामा आएको १८० बोरी युरीया मल वितरण गरिएको तर अहिले आएको २०० बोरी मल वितरण गर्दा समस्या आएको बताए । ‘असारमा आएको १८० बोरी युरीया मल वितरण गर्यौं, अहिले २०० बोरी आएको छ, यो वितरण गर्न भनेर गत मङ्गलबारका लागि सूचना जारी गरेका थियौँ, त्यसदिन पनि भिडभाड र हल्लाखल्लाका कारण बाँड्न सकेनौँ,’ उनले भने ।
उनले सोही मल आजलाई वितरण गर्ने योजना बनाएर ३५० वटा कुपन वितरण गरिएको बताए । सहकारीका वरिष्ठ सहकारी व्यवस्थापक अलीले भने, ‘बिहानैबाट किसानको लाइन थियो, भिडभाड थियो, कुपन पाएका किसानलाई सहकारीको गेट बन्द गरेर भित्र वितरण गर्न थालेका थियौँ, बाहिरबाट सयौँको संख्यामा रहेका अन्य किसानहरुले गेट तोडर भित्र पस्नुभयो र आज पनि वितरण गर्न सकेनौँ ।’
‘सम्बन्धित ठाउँमा समन्वय गर्दा साउन अन्तिम नभए भदौ पहिलो साता मल आउँछ भन्छ, कोटा निर्धारण गर्दा सम्बन्धितले सदस्य संख्या हेरेर मल दिनुपर्यो, अरुलाई १०० बोरी दिँदा हामीलाई ३–४ सय बोरी दिनुपर्यो,’ सहकारीका अध्यक्ष थारुले थप अगाडी भने, ‘हामी पनि किसानै हौँ, हामीलाई किसानका पीडा थाहा छ तर के गर्न सक्छौँ हामी ? अन्य किसानहरुले बुझिदिनुपर्यो, सरकारले व्यवस्थापन गर्दैन्, समयमा माग अनुसारको मल दिँदैन्, यसमा हाम्रो गल्ती छैन्, सरकाले तत्काल यो समस्या समाधान गर्न पहल गरोस् ।’
सत्यपाटी