तपाईंले ‘ए’, ‘बी’, ‘ओ’ र ‘आरएच’ जस्ता रक्त समूहहरूबारे पक्कै सुन्नु भएको होला । यीबाहेक पनि केही दुर्लभ रक्त समूहहरू हुन्छन् । तर अहिले भारतमा एक नयाँ रक्त समूह पत्ता लागेको छ, जसको नाम राखिएको छ सीआरआईबी ।
सीआरआइबीमा ‘सीएच’ को अर्थ क्रोमर हो, जुन ४७ वटा रक्त समूहहरूमध्ये एउटा इकाइ हो । ‘आई’को अर्थ इण्डिया, र ‘बी’को अर्थ बेंगलुरु हो । अर्थात् यो रक्त समूह बेंगलुरु नजिकै एक महिलामा पत्ता लागेकोले बी अक्षर पनि राखिएको हो ।
यो रक्त समूह यति दुर्लभ छ कि ३८ वर्षीया ती महिलाको मुटुको शल्यक्रिया हुँदा चिकित्सकहरूले रगत चढाउन पूर्वतयारी स्वरूप रगत राख्ने सामान्य प्रक्रिया समेत अपनाएनन् । किनभने विशेषज्ञहरूले ती महिलाको रक्त समूह पहिचान गर्नै सकेका थिएनन् ।
डा.अंकित माथुरले ती महिलाको शल्यक्रिया गर्न अतिरिक्त रगत नचढाइ सफलतापूर्वक शल्यक्रिया गरेका थिए । डा.माथुर बेंगलुरुको रोटरी–टीटीके ब्लड सेन्टरका अतिरिक्त चिकित्सा निर्देशक हुन् । ती महिलालाई मुटुमा समस्या देखिएपछि शल्यक्रियाको सिफारिस गरिएको थियो ।
अन्य रक्त समूहभन्दा फरक
डा.माथुरले भने, ‘महिलाको रक्त समूह कुनै पनि परिचित समूहसँग मेल खाएको थिएन । हामीले विभिन्न समूहहरूसँग परीक्षण ग¥यौँ तर हरेकपटक प्रतिक्रिया (रिएक्सन) देखियो ।’ त्यसपछि उनले महिलाको परिवारका सदस्यहरूको रगतको नमूना खोजे ।
‘२० जना परिवारका सदस्यहरूका रगतका नमुना लियौ ।तर कसैको रगत पनि महिलासँग मेल खाएन,’ डा.माथुरले भने । त्यसपछि उनीसँग अर्को विकल्प थियो, रगतको नमुना ब्रिटेनको ब्रिस्टलमा रहेको इन्टरनेशनल ब्लड ग्रुप रिप्रलेन्स ल्याब्रोरेटरी मा पठाउने ।
यो त्यही प्रयोगशाला हो, जहाँ संसारभरबाट रक्त नमुना परीक्षणका लागि पठाइन्छ । डा. माथुरका अनुसार त्यहाँ रगत पठाइएपछि त्यसको विश्लेषण गर्न १० महिना लाग्यो । परीक्षण पछि बिरामीको रगतमा युनिक एन्टिजेन रहेको पत्ता लाग्यो ।
त्यो जानकारीपछि त्यसका जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजनलाई पठाइयो । रेड ब्लड सेल इम्यूनोजेनेटिक्स एन्ड टर्मिनोलोजी समूहले ती महिलाको रगतलाई सीआरआईबी नामलाई मान्यता दियो ।
यस वर्ष जुनमा इटालीको मिलानमा आयोजित इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजनको ३५औं सम्मेलनमा यसको औपचारिक घोषणा गरिएको हो । रक्त समूह आमा–बुबाको जीनबाट तय हुन्छ । त्यसोभए के ती महिलाको जीनमा केही गडबडी थियो त ?
डा.माथुर भन्छन्, ‘हामीले सोचेका थियौं कि कम्तीमा परिवारका कुनै एक सदस्यमा त्यही एन्टिजेन होला, तर कसैमा थिएन ।’ एन्टिजेन शरीरमा पाइने एक किसिमको प्रोटिन हो । हालसम्म क्रोमर रक्त समूह प्रणालीमा २० एन्टिजेनहरूको पहिचान भइसकेको छ ।
सीआरआइबी अब २१औं एन्टिजेन बनिसकेको छ । सीआरआइबी ब्लड ग्रुप बाँकी ४७ रक्त समूह प्रणालीबाट फरक छैन, जसमा ३०० भन्दा बढी एन्टिजेन छन् । तर ट्रान्सफ्यूजनका लागि सामान्यतः एबीओ र आरएचडी मात्रलाई आधार मानिन्छ ।
डा.स्वाति कुलकर्णीले बम्बे ब्लड ग्रुपको उदाहरण दिँदै भनिन् ‘यो ग्रुप जुन १९५२ मा डा.वाय.एम. भेन्डे र डा.एच.एम. भाटियाले पत्ता लगाएका थिए । बम्बे फेनोटाइप भएका व्यक्तिहरूमा ‘ए’ र ‘बी’ एन्टिजेन हुँदैन, तर तिनीहरूले ‘इ’ ब्लड ग्रुपको रगत पनि लिन सक्दैनन् ।’
बम्बे ब्लड ग्रुप पनि निकै दुर्लभ हो । संसारभर हरेक १० लाख व्यक्तिमा एकजनामा पाइन्छ तर मुम्बईमा हरेक १० हजारमा एकमा देखिने गरिन्छ । ती महिला पनि अरूसँग रगत लिन सक्दिनन्, तर अरूलाई रगत दिन सक्छिन्, बम्बे ग्रुपजस्तै । बम्बे र क्रोमर ब्लड ग्रुप सिस्टमसँगै १९७३ मा भारतमा इन्डियन ब्लड ग्रुप सिस्टम पनि पत्ता लागेको हो ।
सत्यपाटी