२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा

सत्यपाटीसत्यपाटी । बागलुङ । २०८२ साउन १८ गते आइतबार

तीन वर्ष अगाडिसम्म ढोरपाटनको बुकीपाटन क्षेत्रमा गोठाला र वस्तुभाउबाहेक कोही जाँदैनथे । पाटनैभरि वनफूल फुल्थे । वस्तुभाउ चर्दै पुग्ने ठाउँसम्म गोबर भेटिन्थ्यो । तर अहिले बुकीपाटनमा पर्यटकको आकर्षण बढेको छ । गत वर्षदेखि ढोरपाटन पुगेका आन्तरिक तथा बाह्य पर्यटक बुकीपाटन उक्लिन थालेपछि पहिले वनफूल र गोबर भेटिने ठाउँमा अहिले प्लास्टिक र सिसा भेटिन थालेका छन् ।

फुमफिरका गर्न आएका पर्यटकले यत्रतत्र फोहर फाल्दा बुकीपाटन कुरुप बन्ने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ पाखाथरदेखि उकालो लागेपछि पदमार्गका छेउछाउ, कोल्सा, डाँडा, खोला र बुकीपाटनसम्मै बिस्कुट, चाउचाउका प्लास्टिक, सिसा, रेडबुल र पानीका बोत्तल छरपस्ट भेटिन्छन् । पर्यटन तथा उद्योग कार्यालय बागलुङ र ढोरपाटन सिकार आरक्षले पदमार्गको ठाउँठाउँमा फोहर फाल्ने खाडल बनाए पनि त्यसको प्रयोग कमै भएको छ ।

बुकीपाटनमा सिरसिर सिरेटो चलिराख्ने हुँदा एक ठाउँ फालेको फोहर उडाएर टाढाटाढा पुर्याउने गरेको छ । बुकीपाटनमा अधिकांश पर्यटकले प्लास्टिकजन्य सामग्री बोकेर जाने प्रयोग भइसकेपछि उतै फ्याँकेर फर्किने गरेको स्थानीय गोठाला लोकबहादुर विश्वकर्माले बताए । जथाभावी रूपमा फालेको प्लास्टिक घाँससँग वस्तुभाउले खाँदा बिरामी परेको उनको भनाइ छ । बिरामी वस्तुभाउको गोबरमै प्लास्टिकका टुक्रा फेला पर्ने विश्वकर्माले सुनाए ।

प्लास्टिक खाएर आफ्ना तीनवटा भेडा मरेको उनले गुनासो पोखे । ‘पहिला लेकमा गोठालामात्रै हुन्थ्यौँ, बाहिरी मान्छे आउँदैनथे, गाठालाले खासै प्लास्टिक ल्याउँदैनथे, अहिले त बुकीको ठाउँठाउँमा जता पनि कागज भेटिन्छन्,’ उनले भने, ‘उनीहरुले बोकेर आउने चाउचाउ, बिस्कुटको प्लास्टिक सबै यही फालेर जान्छन्, त्यो प्लास्टिक खाएर हाम्रो पशुचौपाय बिरामी पर्छन्, केही दिनअघि तीन भेडा मरे, मरेका भेडाको गोबरमा बिस्कुट बाहिरको प्लाष्टिक भेटियो ।’

उपत्यकादेखि बुकीपाटन जाने पर्यटकका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाइएको छैन । पर्यटकले आफूलाई मन लागे जतिको समान बुकीपाटन लिएर जाने गर्छन् । यस वर्ष माथिल्लो क्षेत्रमा धेरै प्लास्टिकजन्य फोहर थुप्रिन थालेको ढोरपाटन उपत्यकाका होटल व्यवसायी धिरेन्द्र घर्तीमगरले बताए । गर्पाछेडा, टीकाधारा, फुर्से देउराली, फागुने लगायतका बुकीपाटन क्षेत्रमा जाने पर्यटकले होटलबाट समेत वियर, रम लगायतका पेयपदार्थ बोकेर जाने गरेको भन्दै त्यसको सिसा उतै फ्याँकेर आउने गरेको उनको भनाइ छ ।

घर्तीमगरले भने, ‘सिकार आरक्ष अथवा नगरपालिकाले बुकीपाटन जानका लागि एउटा मापदण्ड बनाउनुपर्ने देखियो, यही हिसाबले बुकीपाटनमा फोहर बढ्दै गयो भने त यसको असर खतरनाक हुनसक्छ, भोलि त्यस क्षेत्रमा फुल्ने फूल, घाँस र जीवजन्तुलाई असर पुग्छ, त्यसले गर्दा समयसमय सफाइ गर्ने र सीमित प्लास्टिकजन्य सामानमात्र बुकी लैजाने व्यवस्था गर्नुपर्छ ।’ सामान्य उचाइबाट एकैपटक चार हजार ३०० मिटरको उचाइसम्म पुग्दा कोही बाटोमा बिरामी हुने त कतिलाई लेकसमेत लाग्ने गरेको छ ।

यसतर्फ कुनै पनि निकायको ध्यान पुग्नसकेको छैन । प्लास्टिकले पर्यावरण र बुकीपाटनको सुन्दरतालाई कुरुप बनाउन सक्ने काठमाडौँबाट घुम्न आउनुभएका नितेश राजभण्डारीले बताए । बुकीपाटन प्राकृतिक सुन्दरताका हिसाबले अत्यधिक राम्रो रहेको भन्दै उनले फोहर व्यवस्थापनका लागि सम्बन्धित निकाय र घुम्न जाने पर्यटकले पनि ख्याल गर्नुपर्ने बताए । फुर्से देउराली र गर्पाछेडामा धेरै प्लास्टिक फेलापरेको उनको भनाइ छ ।

ढोरपाटन सिकार आरक्ष कार्यालयका सूचना अधिकारी पशुपति अधिकारीले समयसमयमा फोहर व्यवस्थापनका लागि कर्मचारी पठाउने गरे पनि प्रभाकारी हुन नसकेको बताए । घुम्न आउने पर्यटकले बढी लापरवाही गर्दा फोहर बढेको उनको भनाइ छ । सिकार आरक्षले ढोरपाटनका होटल व्यवसायी र विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर बेलाबेलामा उपत्यकामा सरसफाइ गरे पनि बुकीपाटनमा पुग्न नसकेको अधिकारीले बताए ।

प्रकाशित मिति : २०८२ साउन १८ गते आइतबार