२०८३ साउन ५ , मंगलबार 22, July 2026, Wednesday

उच्च जोखिममा रहेका नेपालगन्जका वडामा जोखिम नक्साङ्कन

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ साउन १७ गते शनिबार
नेपालगन्जका नौ वटा वडाको विपद जोखिम र क्षमता नक्साङ्कन कार्यबारे जानकारी गराइँदै ।

नेपालगन्ज उपमहानगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि मुख्य पुरानो बजार क्षेत्रका नौ वटा वडाको विपद् जोखिम तथा क्षमता नक्साङ्कनको काम सकिएको छ । भूकम्प र आगलागी लगायतको उच्च जोखिममा रहेको नेपालगन्जको पुरानो बजार क्षेत्रलाई पहिलो प्राथमिकता राखेर वडा नं. १, २, ३, ४, ५, ६, ७, ८ र ११ को बृहत् रूपमा जोखिम तथा क्षमता नक्साङ्कन कार्य गरिएको उपमहानगरपालिकाको नापी शाखाले जनाएको छ ।

उपमहानगरपालिकाका जनप्रतिनिधि तथा शाखा प्रमुखलाई नौ वटा वडामा गरिएको स्रोत, क्षमता र जोखिमको नक्साङ्कन कामका बारेमा जानकारी दिँदै नापी शाखा प्रमुख मनराज थापाले अहिले बढी जोखिममा रहेको सहरी क्षेत्रबाट नक्साङ्कन कार्य सुरु गरे पनि उपमहानगरको २३ वटै वडाको जोखिम तथा क्षमता नक्साङ्कन काम गर्दै जाने बताए ।

सो कार्यका लागि वडाको जोखिम क्षेत्र, जोखिममा रहेका घरहरू, खुला क्षेत्रहरू, सडक, सार्वजनिक क्षेत्र लगायतका सूचनाहरू समेटी नक्साङ्कन कार्य गरिएको नापी शाखा प्रमुख थापाले बताए । नेपालगन्जका उपप्रमुख कमरुद्दिन राइले पालिकास्तरमा विपद् व्यवस्थापनमा विभिन्न नविनतम कार्यहरू भएको बताउँदै यसले जोखिम घटाउँदै लैजाने विश्वास व्यक्त गरे ।

उहाँले विगत केही वर्षदेखि विपद् व्यवस्थापनका लागि राम्रा कामहरू भएको बताउँदै आगामी दिनमा पनि प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले विपद व्यवस्थापन र न्युनीकरणमा सूचनामूलक नक्साङ्कन कार्य महत्त्वपूर्ण हुने बताउँदै यसैको आधारमा योजना निर्माण गरेर अगाडि बढ्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालन भइरहेको सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजनाको सहयोगमा सो नक्साङ्कन कार्य गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमान र एचआइको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकामा सञ्चालित सुपर परियोजनाले भूकम्प लगायतको विपद पूर्वतयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार