२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

बाटोमै सुत्केरी भइन् सूचना

सत्यपाटीसत्यपाटी । बाजुरा । २०८२ साउन १७ गते शनिबार

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा १८ वर्षीया सूचना दमाईलाई प्रसव वेदना लागेपछि उनी स्वास्थ्य संस्थातर्फ हिँडिन् । तर, आधा घण्टा पैदल हिँडेर लेम्ना पुग्दा व्यथाले च्यापेपछि उनी अघि बढ्न सकिनन् । गाउँका दुई महिलाको सहयोगमा हिँडेकी सूचना बाटोमै छटपटाउन थालिन् ।

साप्पाटा स्वास्थ्य चौकीमा खबर पुगेपछि अनमी रेखा कट्टेल र स्वीपर सुनकटा विक तुरुन्त घटनास्थल पुगे । सूचनाले त्यतिन्जेल छोरा जन्माइसकेकी थिइन्, तर साल अड्किएर रक्तस्राव भइरहेको थियो । अनमी रेखाले तत्काल साल निकालेर नाल व्यवस्थापन गरी आमा र शिशुको उपचार गरिन् ।

समयमै नपुगेको भए आमाको ज्यान जोखिममा पर्न सक्ने रेखाले बताइन् । अहिले आमा र शिशुको स्वास्थ्य सामान्य छ । रेखा र सहयोगी सुनकटा तथा अहेब पालकुमारी विकले घरमै स्वास्थ्य निगरानी गरिरहेका छन् । दुर्गम क्षेत्रमा यातायात र स्वास्थ्य संस्थाको पहुँच अभावले यस्ता जोखिमपूर्ण अवस्था अझै कायम छन् ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार