२०८३ मंसिर ११ , शुक्रबार 27, November 2026, Friday

वीरेन्द्रनगरका सबै वडामा जडान गरिँदै सीसीटिभी क्यामेरा

वीरेन्द्रनगरको सुरक्षा संवेदनीशलतालाई मध्यनजर गर्दै मुख्य बजार क्षेत्रमा सीसीटिभी क्यामरा जडान गरिने भएको छ । सीसीटिभी क्यामरा जडानका लागि वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमबीच बुधबार सम्झौता गरिएको छ ।

नगरपालिकाका विभिन्न स्थानहरुमा ३५० क्यामरा जडान गरिनेछ । सम्झौता अनुसार पहिलो चरण ६ महिनाभित्र १०० क्यामेरा जडान गरिनेछ, २५० क्यामेरा चालु आर्थिक वर्षभित्रै जडान गरिसक्नु पर्नेछ । सीसीटिभी नेटवर्क, वाइफाई हटस्पटमा नेपाल टेलिकमको एफटीटीएच अप्टिकल फाइबर प्रयोग गर्नेगरी सम्झौता भएको छ ।

वीरेन्द्रनगरका विभिन्न वडाहरु, राजमार्ग तथा पर्यटकीय क्षेत्रलाई सीसीटीभी क्यामेराले समेट्नेछ । क्यामेरा तथा वाइफाई हटस्पट जडानका लागि नगरपालिकाले आवश्यक भौतिक पूर्वाधारहरू पोल तथा अन्य सामग्री, विद्युत आपूर्ति, स्वीच, राउटर, केवल, क्यामेरा, एनभीआर लगायतका उपकरणहरुको व्यवस्थापन गर्नेछ ।

टेलिकमले क्यामेराका लागि फाइबर नेटवर्कमार्फत केनेक्टिभिटी उपलब्ध गराउनेछ भने जडान गरिएका क्यामेरा तथा उपकरणहरूको सुरक्षाको जिम्मा जिल्ला प्रहरी कार्यालयको हुने सम्झौतामा उल्लेख छ । वीरेन्द्रनगरका १ देखि १४ नम्बर वडाका विभिन्न स्थानका बढी जनघनत्व हुने स्थानहरु, पर्यटकीय स्थल र अन्य सार्वजनिक स्थलहरुमा ३५० वटा क्यामेरा जडान गरिनेछ ।

पहिलो चरणमा जडान गरिने १०० क्यामेराका लागि ११ लाख ६९ हजार ५०० रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ । यो रकम नगरपालिकाले ब्यहोर्नेछ । बाँकी क्यामेरा जडानका लागि नगरपालिकाले नै थप लागत ब्यहोर्ने छ । वीरेन्द्रनगरमा बढ्दो जनसङ्ख्याका थपिएका चुनौती, लागूऔषध, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधिलाई मध्यनजर राख्दै क्यामेरा जडान गर्न थालिएको वीरेन्द्रनगरका प्रमुख मोहनमाया ढकालले बताइन् ।

‘वीरेन्द्रनगरको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर क्यामेरा जडान गर्न लागिएको हो,’ उनले भनिन्, ‘प्रहरीलाई अपराध नियन्त्रणमा पनि यसले सहयोग पुर्याउनेछ ।’ सीसीटिभि जडानले सहरी सुरक्षा, अनुशासन, अमनचयन कायम गराउनका लागि मद्दत गर्ने नेपाल टेलिकम प्रादेशिक निर्देशनालयका निर्देशक कमल लामिछानेले बताए । सहरी क्षेत्रमा बढ्दो सुरक्षा चुनौती नियन्त्रणका लागि सीसीटिभि जडानले सहयोग पुर्याउने सुर्खेत प्रहरी प्रमुख एसपी सुधीरराज शाहीले बताए ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार