२०८३ भदौ १० , बुधबार 26, August 2026, Wednesday

कर्णाली करिडोरमा निर्माण गरिँदै आधा दर्जन पक्की पुल

कर्णाली कोरिडोरको हुम्ला खण्डको सलीसल्लादेखि सदरमुकाम सिमकोटसम्मको ५० किलोमिटर दुरीमा छ वटा नयाँ पक्की पुल निर्माण गरिने भएको छ । खोलाहरूको दूरी लामो भएका कारण कलभर्टले काम गर्न नसक्ने निष्कर्ष निकाल्दै पक्की पुल निर्माण गर्न लागिएको हो ।

कर्णाली कोरिडोरको सर्केगाड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लादेखि सिमकोट गाउँपालिका–४, स्याम्नेसम्मको ५० किलोमिटर दुरीमा छ वटा नयाँ पक्की पुल निर्माण गर्न लागिएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताए ।

हिउँदमा पानी कमै हुने भए पनि यी खोलामा बर्खामा भने पानी बढ्ने गर्छ । प्रमुख नेपालीका अनुसार निर्माण गर्न लागिएका पुलमा सिमकोट गाउँपालिका–४, स्याम्नेखोला, खार्पुनाथ गाउँपालिका–५, याङ्चुखोला र १ को चिसामुलखोला छन् ।

त्यसैगरी सर्केगाड गाउँपालिका–६, ठेहीखोला, ४ को कोगोठीखोला र ६ को गिउसीखोला छन् । यी खोलामा पक्की पुल निर्माणका लागि योजना तयारी भइरहेको उहाँले बताउनुभयो । यसका लागि बजेटको समेत व्यवस्था भइसकेको छ ।

लागत स्टिमेट तयार भइसकेपछि त्यसलाई स्वीकृत गर्न विभागमा पठाइने र त्यसपछि निर्माण अगाडि बढाइने उनले बताए । यी पुल ५० देखि १०० मिटर लम्बाइका छन् । लागत स्टिमेट तयारीपछि भने ती पुलको लागत यकिन हुनेछ ।

प्रकाशित मिति : २०८२ साउन १७ गते शनिबार